Pura Samachar

उपमहासचिवमा विन्दा पाण्डेको दाबी,शेरधन राईको एमाले सचिवमा दाबेदारी

प्रकाशित: November 25, 2021

उपमहासचिवमा विन्दा पाण्डेको दाबी,शेरधन राईको एमाले सचिवमा दाबेदारी

नेकपा (एमाले) की केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाकी सांसद विन्दा पाण्डेले पार्टीको उपमहासचिवमा दाबी गरेकी छन्।

चितवनमा शुक्रबारदेखि सुरू हुने एमालेको दशौं महाधिवेशनमा आफूले उपमहासचिवमा उठ्ने तयारी गरिरहेको पाण्डेले बताइन्।

‘म पार्टीको उपमहासचिवका लागि योग्य छु,’ पाण्डेले सेतोपाटीसँग भनिन्,‘सहमति गरेर मनोनयनको व्यवस्था नै नगरे अर्को कुरा नत्र म उपमहासचिवमा उम्मेदवारी दिन्छु।’

नेकपा एमालेमा १५ जना पदाधिकारी हुने व्यवस्था छ। १५ जनामध्ये कम्तीमा पनि एक तिहाइ महिला पदाधिकारी हुनु पर्ने माग उठिरहेको छ।

एमालेका केही नेताहरूले अहिले पार्टी चौतर्फी घेराबन्दीमा रहेकाले दशौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व छान्नु पर्ने बताइरहेका छन्।

एमाले केन्द्रीय सदस्य एवम् पूर्वमुख्यमन्त्री शेरधन राईले आफू सचिवको दाबेदार रहेको बताएका छन्।

आफू सचिवका लागि योग्य रहेको र त्यो क्षमता राख्ने उनले बताए।

पार्टीमा सहमतिको लागि प्रयास हुँदा पनि आफ्नो दाबी सचिवमै रहने र निर्वाचन भएमा पनि सचिवमा उम्मदवारी दिने उनले बताए।

‘भोलि अधिवेशन उद्घाटन कार्यक्रम सकिएपछि पार्टी केन्द्रीय कमिटी बैठक बस्छ। त्यो बेलामा यसबारेमा छलफल हुन्छ होला,’उनले भने,’अन्तिमसम्म पनि सहमतिको लागि प्रयास जारी रहन्छ। सहमति हुने अवस्थामा आवश्यक परेमा पदाधिकारीको संख्या बढाउन सकिन्छ।’

प्रदेश १ का पूर्वमुख्यमन्त्री राई एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन्। उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग अझै निकट छन्।

प्रतिक्रिया