Pura Samachar

जिल्लाले पठाएका प्रतिनिधिको नाममा केन्द्रले हेरफेर गरेपछि राप्रपामा विवाद

प्रकाशित: December 2, 2021

जिल्लाले पठाएका प्रतिनिधिको नाममा केन्द्रले हेरफेर गरेपछि राप्रपामा विवाद

काठमाडौं । बुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा प्रतिनिधि चयनका विषयमा विवाद बढेको छ ।

चुनावको पूर्वसन्ध्यामा केही जिल्लामा प्रतिनिधिको विवाद देखिएको राप्रपा नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो ।काठमाडौँ, ललितपुरसहित एक दर्जन जिल्लामा प्रतिनिधिको विवाद रहेको उहाँले बताउनुभयो । विवाद समाधान गरेर मात्र निर्वाचनमा जानुपर्ने माग उठेपछि त्यसका लागि उच्चस्तरीय विवाद समाधान समिति गठन गर्ने विषयमा छलफल भइरहेको पाण्डेले जानकारी दिनुभयो ।

राप्रपाका जिल्ला कार्यसमितिले सिफारिस गरेर केन्द्रमा पठाएको कतिपय महाधिवेशन प्रतिनिधिको सूची केन्द्रमा परिवर्तन गरिँदा समस्या भएको नेताहरूले बताएका छन् । केन्द्रीय सचिवालयमा आएको प्रतिनिधिको कतिपय सूचीलाई संस्थापनले आफू अनुकूल परिवर्तन गरेको भन्दै बुधबार राति राजेन्द्र लिङ्देन समूहले पार्टी कार्यालय घेराउ गर्दै नाराबाजी समेत गरेको थियो ।

लिङ्देन समूहले महाधिवेशन प्रतिनिधिको विवाद टुङ्गो लगाएर चुनावमा जानुपर्ने बताउँदै आएको छ । नेताहरू आन्तरिक छलफलमा जुट्न राप्रपाको दोस्रो दिनको बन्दसत्र समेत प्रभावित भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र अहिलेसम्म सुरु हुन सकेका छैन । बन्दसत्रमा अध्यक्षत्रयले पेस गरेको राजनीतिक र विधान संशोधन प्रस्तावमाथि छलफल भएर पारित गर्ने कार्यसूची रहेको छ ।

राप्रपाको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले प्यानलसहित चुनावी प्रतिस्पर्धा गर्ने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया