
ठमाडौं । कोराोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले हङकङ, दक्षिण कोरिया तथा भारतजस्ता नेपालसँग प्रत्यक्ष सम्पर्क भएका देशलगायत अन्य एसियाली मुलुकमा पनि प्रवेश पाइसकेको छ । कोरोनाको यो नयाँ भेरियन्टका सम्बन्धमा वैज्ञानिकहरु तथा डब्ल्यूएचओसँग पनि विस्तृत जानकारी छैन ।
यस विषयमा अध्ययन-अनुसन्धान जारी छ र त्यसको रिपोर्ट आउन अझैं केही दिन वा साता लाग्न सक्छ । सुरुवाती जानकारीअनुसार ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्टको तुलनामा तीनगुणा संक्रामक छ र यसका लक्षण पनि डेल्टा भेरियन्टभन्दा अलग छन् । तीव्र प्रसार भए पनि यो भेरियन्टका कारण मानिसको मृत्यु भएको सूचना भने दर्ता भएको छैन । यो भेरियन्ट फेला पारिएको दक्षिण अफ्रिकामा समेत त्यस्तो कुनै घटना नभएको बताइएको छ ।
साउथ अफ्रिकन मेडिकल एसोसिएसनकी अध्यक्ष डा. एन्जेलिक कोएट्न्जिले यो भेरियन्टका सम्बन्धमा सबैभन्दा पहिले शंका गरेर विस्तृत जाँच गराएकी थिइन् ।
ओमिक्रोन भेरियन्टको प्रमुख लक्षण
ओमिक्रोन भेरियन्टको सुरुवाती लक्षणका सम्बन्धमा डा. एन्जेलिक भन्छिन्- ‘यसको लक्षण डेल्टा भेरियन्टको तुलनामा निकै हल्का छ । यसमा संक्रमित व्यक्तिमा थकानका साथै शरीर तथा टाउको दुख्ने लक्षण बढी देखिएको छ । केही संक्रमितमा बढी शारीरिक कमजोरी देखिए पनि कसैमा सुघ्ने वा स्वाद हराउने, तीव्र ज्वरो, अक्सिजन लेबल वा रक्तकोष तल झर्नेजस्ता समस्या देखिएको पाइएको छैन ।’
भ्याक्सिनको असर
ओमिक्रोन भेरियन्टमा कोरोनाविरुद्धको भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने प्रश्नमा डा. एन्जेलिकको जवाफ छ- ‘अहिलेसम्मको जानकारीअनुसार ओमिक्रोन भेरियन्टमा कोरोनाविरुद्धको भ्याक्सिनले काम गरेकै देखिएको छ । किनभने यो खोप लगाएका मानिसहरुमा संक्रमण त भएको छ तर उनीहरुमा खोप नलगाएकाहरुको तुलनामा निकै कम असर अथवा निकै हल्का लक्षण देखिएको छ । यसका साथै प्राथमिक स्वास्थ्य हेरचारबाटै यो समस्या कम भएको पाइन्छ ।’ बिरामीलाई पर्ने असर वा स्वास्थ समस्याका दृष्टिले यो डेल्टा भेरियन्टको तुलनामा निकै कमजोर छ । डा. एन्जेलिक भन्छिन्, ‘यो भेरियन्टबाट संक्रमितहरुले प्रारम्भिक चरणमा अस्पताल भर्ना हुनुपरेको छैन र यसमा अस्पताल भर्नाको दर पनि निकै कम देखिएको छ ।’
ओमिक्रोन भेरियन्टबाट जोगिने उपाय
कोरोनाको ओमिक्रोन भेरियन्टबाट जोगिन केही सुझाव दिइएको छ जुन अघिल्ला भेरियन्टमा दिइएका सुझावभन्दा फरक छैनन् । यद्यपि सबैले यो गाइडलाइनलाई कडाइका साथ पालन गर्नुपर्नेछ । ओमिक्रोन भेरियन्टबाट जोगिने उपायमा अनिवार्य रुपमा मास्क लगाउने, ६ फिटको दूरी कायम गर्ने, बारम्बार साबुनले आफ्नो हात धुने तथा बढी भिडबाट परै रहने कुरालाई नै प्राथमिकता दिइएको छ ।
34
Shares
facebook sharing buttonSharemessenger sharing buttonSharetwitter sharing buttonTweetwhatsapp sharing buttonSharesharethis sharing buttonShare
प्रतिक्रिया