
काठमाडौं । सरकारले आइतवारदेखि देशभर रहेका बाघको गणना गर्ने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राष्ट्रिय बाघ गणना गर्न लागेको हो । बाघको गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ ।
चितवन–पर्सा कम्प्लेक्सबाट बाघको गणना सुरु हुन लागेको हो । नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्मको वन क्षेत्र, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र र शुक्लाफाँटा गरी अरू तीन कम्प्लेक्समा छुट्याइएको छ ।
वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाबाट आइतवार साढे १० बजे राष्ट्रिय बाघ गणनाको उद्घाटन गर्नुहुने कार्यक्रम छ । बाघ गणनाका लागि देशभर छ सय क्यामरा प्रयोग गरिने छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका डा रामचन्द्र कँडेलका अनुसार क्यामरा ट्रयापिङ र अकुपेन्सी सर्भे विधिमार्फत बाघ गणना गरिनेछ ।
बाघ गणना गर्न चितवन–पर्सा कम्प्लेक्समा मात्रै सुरुवाती चरणमा प्राविधिक र कर्मचारी गरी करिब सय जना खटिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । गणना गर्दा आवश्यकता अनुसार मोटरसाइकल, गाडी र हात्तीको प्रयोग हुने उहाँले बताउनुभयो ।
बाघ गणनामा करिब तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । फागुन मसान्तसम्म देशभरको बाघ गणना सकेर आगामी १३ साउनमा विश्व बाघ दिवसको अवसर पारेर नतिजा सार्वजनिक गर्ने विभागको योजना छ ।
नेपालमा चितवनलगायत बर्दिया, बाँके, पर्सा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सन् २०१८ को गणना अनुसार नेपालमा २३५ बाघ छन् । सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा छन् । त्यसपछि बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् । नेपालमा सन् २०१३ मा १९८ बाघ भेटिएको थियो ।
प्रतिक्रिया