Pura Samachar

सञ्चालनमा आयो मोतीपुर सबस्टेसन

प्रकाशित: December 13, 2021
पूरा समाचार

सञ्चालनमा आयो मोतीपुर सबस्टेसन

नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ किलो भोल्ट (केभी) क्षमताको मोतीपुर सबस्टेसन सञ्चालनमा आएको छ । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई आठवटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको छ ।

सबस्टेसनमा रहेका ३० र १६ मेगाभोल्ट एम्पेयर (एमभीए)का पावर ट्रान्सफर्मरहरुलाई चार्ज गरी सञ्चालनमा ल्याइएको हो । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ४ वटा फिडर निकालिएको छ । यसमध्ये ३ वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ ।
मोतीपुर सबस्टेसनबाट कपिलवस्तुको जीतपुर तथा तौलिहवा र रुपन्देहीको सालझण्डी क्षेत्रमा विद्युत आपूर्तिका लागि क्रमश ः ३३ केभी र ११ केभी फिडर निकाली लाइन सञ्चालनमा ल्याइएको हो । यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत आपूर्ति भइरहेको थियो । लामो लाइनबाट विद्युत आपूर्ति हुँदा न्यून भोल्टेज, ट्रिप भएर झ्याप्प झ्याप्प वत्ति जानेलगायतका समस्या थियो ।

अब मोतीपुर सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुने र प्राविधिक चुहावट पनि घट्ने छ । सालझण्डीमा ३३÷११ केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति अझै गुणस्तरीय र भरपर्दो हुनेछ ।

बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर सबस्टेसन निर्माण गरिएको हो । आयोजना अन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । सन्धिखर्क सबस्टेसनलाई आगामी १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया