
पोखरा — नकआउटका प्रतियोगितामा पोखराको मैदानमा थुप्रैपल्ट आमनेसामने भएका मनाङ मस्र्याङ्दी र पुलिस क्लब शनिबार ‘ए’ डिभिजन लिगमा पहिलोपल्ट भिड्दै छन् । राजधानीबाहिर पहिलोपल्ट सहिद स्मारक ‘ए’ डिभिजन लिगको ऐतिहासिक खेल जित्नेमा दुवै टिम आत्मविश्वासी छन् ।
मनाङले ‘होम ग्राउन्ड’ का रूपमा पोखरालाई रोजेकाले लिगको खेल यहाँ भित्रिएको हो । पोखरामा मनाङका समर्थकको बाहुल्य छ । तर, पुलिसका लागि पनि पोखरा रंगशालाको मैदान ‘भाग्यशाली’ छ । आहा–रारा गोल्डकप, पोखरा मनकामना कपलगायत प्रतियोगितामा पुलिसले मनाङलाई हराएर थुप्रैपल्ट उपाधि उचालेको छ । यसरी हेर्दा जसरी मनाङको होम ग्राउन्ड पोखराको मैदान हो, त्यसरी नै पुलिसले पनि आफ्नै मैदानको दर्जामा राखेको छ ।
४ खेल खेल्दा लिगको तालिकामा मनाङ १० अंकसहित दोस्रो स्थानमा छ । टोलीले ३ मा जीत र एक बराबरी खेलेको थियो । मनाङ फ्रेन्ड्स क्लबलाई २–०, हिमालयन शेर्पा क्लबलाई १–०, जावलाखेल युथ क्लबलाई १–० ले हराएको छ भने संकटासँग २–२ को बराबरी खेल्यो । पुलिसले एक खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार बेहोरेर ५ अंकसहित आठौं स्थनमा छ । हिमालय शेर्पा र त्रिभुवन आर्मीसँग १–१ को बराबरी खेलेको पुलिसले जावलोखललाई १–० ले हराएको छ भने संकटासँग ०–१ ले पराजित भएको थियो । शीर्षस्थानमा उक्लिन मनाङले खेल्नेछ भने अंक बढाउन पुलिसले जित्नैपर्नेछ ।
शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक जित निकाल्नेमा ढुक्क देखिए । पुलिसका प्रशिक्षक अनन्त थापा मनाङलाई सशक्त विपक्षी मान्छन् । ‘मनाङ आफैमा लिगको टपमा भएकाले पर्फमेन्स राम्रो छ तर मनाङलाई हामीले जहिले कठिन चुनौती प्रस्तुत गरेका छौं,’ उनले भने, ‘अबको खेलमा पनि रणनीतिक रूपमा एउटा प्लानमा आएका छौं । जित्नका लागि खेल्ने छौं ।’
लिगमा ‘होम एन्ड अवे’ को अवधारणा आउनुले नेपाली फुटबलको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनी ठान्छन् । पोखरा मनाङको घरेलु मैदान भए पनि आफ्नो टिम भाग्यशाली साबित भएको उनले दोहोर्याए । मनाङले प्रतिभावान खेलाडीले भरिएको, विदेशी खेलाडीसमेत भएको व्यावसायिक टिमका रूपमा आफूलाई स्थापित गरे पनि मैदानमा ९० मिनेट ती सबै कुरा बिर्सिने उनले बताए । ‘मैदानमा खेल्दा हाम्रो होम ग्राउन्ड हो भनेर खेल्छौं,’ उनले भने, ‘आफ्नो रणनीतिमा अडिग भएर राम्रो नतिजा निकाल्ने पक्षमा छु ।’ लिगमा ९ म्याच अझै बाँकी रहेकाले तालिकाको समीकरण अझै खुला रहेको उनी बताउँछन् । गत संस्करणमा उत्कृष्ट ६ भित्र परेको जावलाखेललाई हराउनु, आर्मीसँग बराबरी खेल्नु पुलिसको उपलब्धि रहेको उनले सुनाए । स्ट्राइकर नीरकुमार राईको साथले मनाङसँग आक्रामक खेल्ने उनको रणनीति छ । नाम चलेका खेलाडीले शतप्रतिशत दिएर खेलुन् भन्ने उनी चाहन्छन् । अहिलेकै खेलाडीले प्रतिबद्ध भएर खेले विदेशी खेलाडीको खाँचो आफ्नो टिमलाई नरहने उनले बताए ।
उता मनाङमा भने तीन विदेशी खेलाडीले सोचेअनुरुप खेल्न नसकेको चर्चा हुने गरेको छ । प्रशिक्षक राजेन्द्र तामाङ त्यस्तो आरोपको खण्डन गर्छन् । ‘पहिलो म्याचमा केही कमजोरी देखिएको हो । त्यसपछिका ३ म्याचमा नराम्रो खेलेको भन्न मिल्दैन,’ उनले भने, ‘पर्फमेन्स राम्रो छ, फरवार्डले धेरै गोल गर्न नसकेको भन्ने होला ।’ पुलिसलाई बलियो प्रतिस्पर्धी उनले मानेका छन् । पुलिसविरुद्ध जित हासिल गर्न राम्रैखाले योजना बनाएको उनले सुनाए । घरेलु दर्शकको समर्थन आफ्ना लागि ऊर्जा हुने उनले बताए । ‘मोफसलको टुर्नामेन्ट र लिगमा पनि धेरैपल्ट खेलेकाले पुलिसलाई कम आँक्दैनौं,’ उनले भने, ‘राम्रो खेल खेल्यौं भने हाम्रो पक्षमा दर्शक आउँछन् । राम्रो खेलेन भने आउँदैनन् । मनाङ भनेपछि पोखरेली दर्शक ८० प्रतिशत हाम्रो समर्थनमा हुन्छन् । त्यसैको एड्भान्टेज लिने हो हामीले । राम्रोचाहिँ खेल्नैपर्छ ।’ पुलिससँगको रणनीति भने उनले खुलाउन चाहेनन् । यसपल्ट लिगमा सहभागी १४ क्लब नै बलिया रहेको उनको निष्कर्ष छ । मनाङले पोखरामा पुस १७ मा लिगको सातौं चरणअन्तर्गत ब्रिगेड ब्वाइजसँग खेल्नेछ । आठौं चरणमा अन्तिम खेल पुस २४ मा मनाङ र च्यासल युथ क्लबबीच पोखरामा हुनेछ ।
आफ्नै क्लबलाई मन्त्रीको १० लाख
पोखरालाई ‘होम ग्राउन्ड’ बनाएको मनाङ मस्र्याङ्दीलाई गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले १० लाख रुपैयाँ सहयोग गरेको छ । युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को निर्देशनमा शुक्रबार उक्त रकम मन्त्रालयले सहयोग गरेको हो । मनाङ मन्त्री गुरुङ सल्लाहकार रहिसकेको क्लब हो ।
मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनकै रोहबरमा एक सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता–पत्रमा प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङ र मनाङ मस्र्याङ्दीको तर्फबाट अध्यक्ष मुखिया गुरुङले हस्ताक्षर गरेका छन् । मनाङले उक्त रकम टिमको व्यवस्थापनलगायत फुटबल विकासका लागि खर्च गर्ने जनाएको छ ।
सम्झौतामा उल्लेख भएअनुसार मनाङले प्रदेशको फुटबल विकासका लागि प्रदेश खेलकुद परिषद गण्डकीसँग मिलेर काम गर्नुपर्नेछ । पोखरा रंगशालाको संरक्षणलगायतको कार्यमा समेत सहयोग गर्ने सम्झौतामा उल्लेख छ । मन्त्री गुरुङले मनाङसँग मिलेर प्रदेशमा फुटबल विकास गर्ने र युवा खेलाडी उत्पादन गर्ने बताए । भने, ‘हाल १० लाख रकम व्यवस्थापनका लागि दिए पनि यसको मूल उद्देश्य भविष्यमा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने नै हो ।’
प्रतिक्रिया