
सहिद स्मारक ए डिभिजन लिगको छैटौं चरणको सानदार उद्घाटन भएको छ। छैटौं चरणको पहिलो खेलमा न्युरोड टिम र एपीएफ फुटबल क्लबले ३-३ गोलको रोमाञ्चक बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती अग्रता न्युरोडले बनायो। खेलको ३२अौं मिनेटमा मेसुके ओलोमोउको क्रसमा हेड गर्दै दर्शन गुरुङले न्युरोडलाई अघि बढाए।
तर उक्त गोल गरेको पनि मिनेट नबित्दै न्युरोडले गोल बेहोर्यो।३७अौं मिनेटमा प्रदिप लामाको क्रसमा हेडर मार्फत नै आशिष् लामाले एपीएफलाई खेलमा फर्काए।
दोस्रो हाफको सुरुवातमा न्युरोडले दोस्रो गोल गर्यो। रञ्जन बिष्टको फ्लिकमा छातीले बल नियन्त्रणमा लिएर दर्शनले गरेको शक्तिशाली प्रहारले फार पोस्टको जाली चुमेको थियो।
६०अौं मिनेटमा मेसुकेले गोल गरेपछि न्युरोड सहज जिततर्फ लम्कियो। तर न्युरोडले तेस्रो गोल गरेको पाँच मिनेटमै एपीएफले दोस्रो गोल थप्यो। नवीन लामाले लिएको फ्रि-किकमा हेड गर्दै दिपेस धिमालले खेललाई ३-२ को स्थितिमा पुर्याए।
६९अौं मिनेटमा एपीएफले बराबरी गोल गर्यो। आशिषले बाइ-लाइनबाट गरेको क्रसमा नवीनले अन्तिम टच दिँदै जाली चुमाए। नवीनको गोलपछि खेलमा अन्य गोल हुन् नसक्दा दुबै टोलीले १-१ अंकमा चित्त बुझाएका हुन्।
यस् बराबरीसँगै ७ अंकका साथ न्युरोड छैटौं स्थानमा उक्लिएको छ। ५ अंक जोड्न सफल एपीएफ भने ११अौं स्थानमै यथावत छ।
प्रतिक्रिया