Pura Samachar

एमालेले ‘जानकी प्रदेश’ नाममा आफ्नो समर्थन

प्रकाशित: December 24, 2021
पूरा समाचार

एमालेले ‘जानकी प्रदेश’ नाममा आफ्नो समर्थन

प्रदेश २ को नामकरणका लागि ‘जनक प्रदेश’ दर्ता गराएको नेकपा एमालेले ‘जानकी प्रदेश’ नाममा आफ्नो समर्थन जनाएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा नेकपा एमालेकी सांसद शारदादेवी थापाले जानकी प्रदेशमै आफूहरूको समर्थन रहेको जनाएकी छन।

पार्टी विभाजनअघि नेकपा एमालेको तर्फबाट प्रमोदकुमार यादवले ‘जानकी प्रदेश’ र शारदादेवी थापाले ‘जनक प्रदेश’ नाम दर्ता गराएकी थिइन। प्रदेशसभा बैठकमा नेकपा एमालेकी सांसद शारदादेवी थापाले नेकपा एमालेले पनि जानकी प्रदेशमै समर्थन जनाउने बताइन।

उनले जानकी प्रदेशभन्दा उचित कुनै अर्को नाम नहुनेसमेत दाबी गरिन्। उनले भनिन्, ‘सुरुमा हामीले जानकी प्रदेश नै दर्ता गराएका थियौँ पछि नेकपा एकीकृत समाजवादी पार्टी जानकीमै अडेर बस्यो, हामीले जनक प्रदेश दर्ता गरायौँ। नेकपा एमाले पनि जानकी प्रदेशलाई नै समर्थन गर्छ।’

थापाले जनककै नाममा जनकपुर नाम पर्न गएकाले जनक नन्दिनी जानकीको नाममा प्रदेशको नाम हुँदा आफूहरूका लागि त्योभन्दा बढी सौभाग्यको कुरा केही नहुने बताइन। अन्तर्राष्ट्रिय स्तरमा चिनिने सबैभन्दा ठूलो संरचना माता जानकीकै मन्दिर रहेको र पर्यटक पनि यसैका लागि यहाँ आउने गरेकाले जानकी प्रदेश नै उचित नाम हुने बताइन।

प्रदेशसभा सदस्य थापाले मुख्यमन्त्री राउतले समेत प्रदेशमा छोरीहरूका लागि विभिन्न अभियान सञ्चालन गरेको तथा तिनीहरूको अधिका रका कुरा गर्ने गरेकाले पनि जानकी नाम सबैभन्दा बढी उचित हुने बताइन। जानकी नाम नारीमैत्रीसमेत रहेको उनले बताइन।

थापाले १०४ जना सांसदलाई यस नाममा सर्थन जनाउन आग्रह गरिन। एमालेकै सांसद किशोरी साह कमलले जानकी नामको उच्चारण र त्यसलाई हेर्ने दृष्टिकोणले नै परिवर्तन गरिरहेको बताए। उनले रामायण सर्किटअन्तर्गत जनकपुरधामलाई जोड्ने पनि कुरा भइरहेकाले प्रदेशको यस्तो नाम राख्दा सबैले विकासका लागि अगाडि आउने बताए।

प्रतिक्रिया