
हिमालयल शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबलाई पराजित गरेको छ । शेर्पाले च्यासलमाथि ३–१ को सहज जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा शेर्पाको जितमा मुताम्वा पिस्टोन भुनयोलीले दुई तथा सुरेश कुमालले एक गोल गरे । च्यासलका रुमेश बर्ताैलाले एक गोल फर्काए ।
२२औं मिनेटमा त्रिदेव गुरुङको पेनाल्टी बक्स बाहिरको प्रहार फितलो बन्दा आकासियो । २५औं मिनेटमा मुताम्वा पिस्टोन भुनयोलीले गोलगर्दै हिमालयन शेर्पालाई १–० को अग्रता दिलाए । क्रसमा आएको बललाई अभिषेक लिम्बुले क्लियर गर्न नसकेको बललाई मुताम्वाले नियन्त्रणमा लिदै गोलरक्षक अर्पण कार्कीलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।
३५औं मिनेटमा शेर्पाका कर्ण लिम्वुले अवसर पाएपनि उनको प्रहार फितलो बन्दा दोस्रो बार च्याप्दै बाहिरियो । ४०औं मिनेटमा चेतन थारुको प्रहारलाई गोलरक्षक दीप कार्कीले पञ्च गर्दै बचाउँदा च्यासल बराबरीबाट चुक्यो । ४७औं मिनेटमा मोउसा अवांगाको क्रस पासमा राजीव लोप्चनको पेनाल्टी बक्सबाहिरको प्रहार आकासियो ।
५६औं मिनेटमा मुताम्वाले गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे । सब्सिच्युट मिडफिल्डर मनिष थापाको क्रसलाई मुताम्वाले छातीले नियन्त्रणामा लिदै दिएको पासमा त्रिदेव गुरुङको भली प्रहारलाई गोलरक्षक अर्पणले नियन्त्रणमा लिन नसकेको बललाई मुताम्वाले जाली चुमाएका थिए ।
७१औं मिनेटमा कप्तान कमल श्रेष्ठको कर्नरमा अभिषेक लिम्वुको हेडर बाहिरिदा च्यासल गोल अन्तर कम गर्नबाट चुक्यो ।
७५औं मिनेटमा रुमेश बर्ताैलाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । राजीव लोप्चनको पासमा अनमार्क रहेका रुमेशले भलीमार्फत गोल गर्दा गोलरक्षक दीप कार्कीले रोक्ने कुनै अवसर नै पाएन । ८०औं मिनेटमा सुरेश कुमालले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । उनले मनिष थापाको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा शेर्पा विजयी हुन सफल भयो ।
शेर्पाको यो लगातार दोस्रो जित हो । यसअघि शेर्पाले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई ३–१ ले पराजित गरेको थियो । त्यसअघिको चार खेलमा शेर्पाले संकटा र पुलिससँग १–१ गोलको बराबरी खेल्दा मनाङसँग १–० र मछिन्द्रसँग ३–० को हार बेहोरेको थियो । च्यासलको यो चौथो हार हो । च्यासलले थ्री स्टार, आर्मी र जावलाखेलसँग हार बेहोरेको थियो । एपिएफलाई १–० ले पराजित गर्दा एनआरटीसँग १–१ गोलको बराबरी खेलेको थियो ।
जितपछि शेर्पा ६ खेलबाट ८ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । समान ८ अंक भएपनि शेर्पा सातदोबाटोसँग गोलअन्तरमा पछि छ । पराजित च्यासल ६ खेलबाट ४ अंक जोडेर १३औं स्थानमा यथावत रहेको छ ।
प्रतिक्रिया