Pura Samachar

मछिन्द्रले मनाङलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा

प्रकाशित: December 25, 2021
पूरा समाचार

मछिन्द्रले मनाङलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा

शीर्षस्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । मछिन्द्रले मनाङलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो ।

मछिन्द्रको जितमा सुनिल बलले इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै मछिन्द्रले एएफसी कप खेल्ने सम्भावना बलियो बनाएको छ । पराजित मनाङको पनि छनोट हुने सम्भावना रहेको छ ।

त्रिपुरेशवरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको तेस्रो मिनेटमा एडिलाजा सोमिडेको ओभरहेड किक पोस्ट नजिकैबाट बाहिरियो । १५औं मिनेटमा कप्तान अन्जन विष्टको प्रहार पहिलो बार च्याप्दै बाहिरिदा मनाङ अग्रता लिनबाट चुक्यो । २५औं मिनेटमा विशाल राईको

फ्रिकिकमा ओमोलाजा नुरेन करिमको प्रहार सदुपायेग हुन नसक्दा मछिन्द्रले अग्रता लिन सकेन । ३९औं मिनेटमा नुर्लान नोभ्रुजोभले गोलको सुवर्ण मौका गुमाउँदा मछिन्द्र अग्रता लिनबाट चुसक्यो । डिफेन्डरले क्लियर गर्न नसकेको बललाई नुर्लानले गरेको प्रहार दोस्रो बार च्याप्दै पोस्टबाट थोरै बाहिरिएको थियो ।

५८औं मिनेटमा सुनिल बलको क्रसमा विशाल राईको हेडर सदुपयोग हुन सकेन । ६४औं मिनेटमा सुनिल बलको लामो प्रहारलाई गोलरक्षक विशाल सुनारले मुस्किलले बचाउँदा रिवाउन्डमा सुनिल बलकै प्रहार डिफ्लेक्ट हुदा गोलरक्षकले सहजै नियन्त्रणमा लिन सफल भए ।

९०औं मिनेटमा सुनिल बलले फ्रिकिकमा दर्शनीय गोल गर्दै मछिन्द्रलाई १–० को जित दिलाउँदै महत्वपुर्ण ३ अंक दिलाए । जितपछि शीर्षस्थानमा उक्लिएको मछिन्द्रको ६ खेलबाट १४ अंक पुगेको छ । पहिलो हार बेहोरेको मनाङको १३ अंक छ ।

मछिन्द्रलाई हराउन सकेको भए मनाङले सातौ चरणको खेल अघि नै एएफसी कप छनोटको यात्रा पक्का गर्ने थियो । तर, हार बेहोरेसँगै अर्काे चरणको खेल नै कुर्नुपर्ने भएको छ । एक खेल कम खेलेको आर्मीको ९ अंक छ ।

सातौ चरणमा मनाङले बिबिसीसँग पोखरामा तथा मछिन्द्रले पुलिससँग काठमाडौंमा खेल्नेछ । एक खेल कम खेलेको आर्मीले आइतबार थ्री स्टारसँग तथा एपिएफसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया