
जावलाखेलको जितमा विपिन कडेल र र निकोलस फर्नान्डेसले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । त्रिपुरेश्वरस्थित दशरश रंगशालामा सोमबार भएको खेलमा पहिलो हाफमा सातदोबाटोसँग दवावमा खेलेको जावलाखेलले दोस्रो हाफमा सुढृड खेल पस्कदै गोल गर्न सफल भएको थियो । सातदोबाटोले दोस्रो हाफमा आफ्नो लय गुमाउँदा खेल पनि गुमाउन पुग्यो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो ओनगुना गुनियरको हेडरलाई गोलरक्षक अभिषेक बरालले बचाउँदा जावलाखेल अग्रता लिनबाट चुक्यो । ५०औं मिनेटमा सब्सिच्युट मिडफिल्डर विपिन कँडेलले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाए । ओनगुना जुनियरको क्रसलाई पासाङ लामाले क्लियर गर्न नसकेको बललाई विपिनले नियन्त्रणमा लिदै जाली चुमाएका थिए । विपिन ४६औं मिनेटमा सुरज ज्यु ठकुरीको स्थानमा मैदान छिरेका थिए । मैदान छिरेको पाँचौ मिनेटमा विपिनले गोल गर्न सफल भएका हुन् ।
७०औ मिनेटमा रुप बहादुर लामाको प्रहारलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बचाए । लगत्तै सोही मिनेटमा निकोलस फर्नान्डेसले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलरक्षक अभिषेक बरालले ठम्याएपनि बचाउन सकेन । ७६औं मिनेटमा ओनगुना जुनियरको प्रहार पोलमा लागेर फर्कदा जावलाखेलले अग्रता बढाउन सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा खेल जावलाखेलले आफ्नो पक्षमा पार्न सफल भयो ।
जावलाखेलको यो लगातार दोस्रो जित हो । यसअघि जावलाखेलले पाँचौ चरणमा च्यासललाई १–० ले पराजित गरेको थियो । त्यसअघि मनाङ र पुलिससँग समान १–० ले पराजित जावलाखेलले मछिन्द्रसँग २–० को हार बेहोरेको थियो । बिबिसीसँग गोलरहित बराबरी खेल्दै जावलाखेलले लिगमा अंकको खाता खोलेको थियो ।
सातदोबाटोको यो दोस्रो हार हो । यसअघि सातदोबाटोले एनआरटीसँग १–० को हार बेहोरेको थियो । फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको सातदोबाटोले थ्री स्टारलाई १–० ले पराजित गरेको थियो । एपिएफलाई ४–१ ले पराजित गरेको सातदोबाटो एनआरटीसँग १–० ले पराजित हुँदा आर्मीसँग १–१ गोलको बराबरी खेलेको थियो ।
लिगमा दोस्रो जित निकालेको जावलाखेल ६ खेलबाट ७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । समान ७ अंक नै रहेपनि थ्री स्टार सातौ र एनआरटी आठौं स्थानमा रहेको छ । पराजित सातदोबाटो ६ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ ।
प्रतिक्रिया