Pura Samachar

ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराउँदै मनाङले एएएफसी कप छनोटको सम्भावना कायम

प्रकाशित: January 1, 2022
पूरा समाचार

ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराउँदै मनाङले एएएफसी कप छनोटको सम्भावना कायम

काठमाडौं (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले एएफसी कप छनोटको सम्भावनालाई जीवित राखेको छ । पोखरा रंगशालामा शनिबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराउँदै मनाङले एएएफसी कप छनोटको सम्भावना कायम गरेको हो ।

कप्तान अन्जन विष्टले पहिलो हाफमा गरेको गोलमा मनाङ लिगमा पाँचौं जित दर्ता गरेको हो । जितसँगै मनाङ अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ भने मछिन्द्र फुटबल क्लब दोस्रो स्थानमा झरेको छ । मनाङको १६ अंक पुगेको छ । मछिन्द्रको १४ अंक छ ।

एएफसी कप छनोटमा पुग्नका लागि मछिन्द्रले आइतबार हुने खेलमा नेपाल पुलिस क्लबलाई हराउनै पर्ने हुन्छ । मछिन्द्र पराजित भए वा बराबरीमा रोकिएको खण्डमा मनाङले एएफसी कपमा देशको प्रतिनिधित्व गर्नेछ । सातौं चरणको समाप्तीमा एएफसी क्लब लाइसेन्स प्राप्त क्लबमध्ये लिगको माथिल्लो स्थानमा रहने टोलीले एएफसी कप छनोट खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै सार्वजनिक गरेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा फ्रिकिकमा आएको बलमा अन्जनले हेड गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । सोही गोल खेलको निर्णयक बनेको थियो । मनाङले आठौं चरणको खेल अर्को शनिबार च्यासल युथ क्लबसँग पोखरा रंगशालामा नै खेल्ने छ ।

शनिबार दशरथ रंगशालामा भएको अर्को खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई २–१ ले हराएको थियो । जितसँगै थ्री स्टार १० अंकका साथ पाँचौं स्थानमा उक्लेको छ । शनिबार नै हुने अर्को खेलमा संकटा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया