
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउने कार्यविधि कुनै व्यक्ति विशेषको लागि नभएको बताउनुभएको छ ।
सोमवार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा नेपाल टेलिकम प्रबन्ध निर्देशक नियुक्तको कार्यविधि कुनै व्यक्ति विशेषको लागि नभएको प्रष्टयाउनु भएको हो ।
सचिव अर्यालले कार्यविधि समितिको निर्देशनको आधारमा नै बनेको बताउनुभयो । उहाँले पछिल्लो समय नेपाल टेलिकमको ग्राहक बढ्दै गएको जानकारी पनि समितिलाई गराउनुभयो ।
डा. सचिव अर्यालले भन्नुभयो, ‘पहिला मोवाइलहरु विलासिताका वस्तु थियो । अहिले अनिवार्य आवश्कताको भित्र पर्ने गरेको छ। जति धेरै मोवाइल प्रयोगकर्ता बढेता पनि नेपाल टेलिकमले जसरी पनि सबैलाई सेवा दिनुपर्छ। टेलिकमको पछिल्लो समय मार्केट शेयर राम्रो सुधार भएको छ । बजारको जम्मा हिंसाको ५० प्रतिशत नेपाल टेलिकमको मोवाइल नम्बर , इन्टरनेट र भ्वाइस प्रयोग गर्ने गरिएको छ ।’
उहाँले भन्नुभयाे, ‘टेलिकम प्रतिशतलाई हेरेर खुशी मनाएर बस्नु पर्ने भन्ने होइन। शेयर मार्केट बढ्दा ग्राहक मात्रै बढाउने मात्रै नभएर ग्राहकलाई चाहिने सेवा सुविधा तथा गुणस्तरीय सेवा बढाउन जरुरी रहेको छ। यस्तो भएमा मात्रै ग्राहकले सन्तुष्टि मान्ने छन्। गुणस्तरीय सेवा विस्तार गर्ने गरी तयारीमा टेलिकम रहने छ । टेलिकमको पछिल्लो समय रणनीतिक साझेदारी ल्याउने विषय धेरै लामो समय देखि छलफल हुँदै आएको विषय हो ।’
सचिव अर्यालले खुल्ला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक नियुक्ति हुने भएकाले सक्षम व्यक्ति आउने बिश्वास समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया