Pura Samachar

स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु

प्रकाशित: January 4, 2022
पूरा समाचार

स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–७, डम्बरखाडीमा स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

मोटरसाइकलमा पछाडि सवार दुधौली–७, कत्लेखोलाका ५५ वर्षीय वीरबहादुर मगरको मृत्यु भएको हो । उपचारका लागि विराटनगर लैजाने क्रममा मगरको बाटोमै मृत्यु भएको जनाइएको छ ।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको सिन्धुली प्रहरीले जनाएको छ ।

कटारीबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ८१५४ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१– ००१ प ५२०७ नम्बरको मोटरसाइकल हिजो साँझ करिब ६ बजे आपसमा ठोक्किएका थिए ।

सवारीसाधनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सिरहाको धनगढीमाई नगरपालिका–११ मा सवारीसाधनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । नम्बर नखुलेको सवारीसाधनले स२प ९९४४ नम्बरको मोटरसाइकललाई हिजो साँझ करिब ६ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहाकै मिर्चैया नगरपालिका–७ का ३२ वर्षीय मोहमद समिनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

मोटरसाइकललाई ठक्कर दिएर सवारीसाधनसहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धनगढीमाईले जनाएको छ ।

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
सुनसरीको धरान उपमहानगरपालिका–१५, आरालाइनमा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–२ का ४२ वर्षीय राजेश सिजापतीको मृत्यु भएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा हिजो बेलुका ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

प्रतिक्रिया