
काठमाडौं । सरकारले उखुको बिक्री मूल्य बढाउने तयारी गरेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलवारकोे बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले उखुको प्रस्तावित नयाँ मूल्य मन्त्रिपरिषदमा पठाइएको जानकारी दिनुभयो । यसबारे निर्णय भने बुधवार बस्ने क्याबिनेट बैठकले गर्ने उहाँले बताउनुभयो । गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम् मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको भन्दै यस वर्ष समान रुपमा सबै प्रकारको उखुको बिक्रि मूल्य बढाइने सचिव शर्माले जानकारी दिनुभयो । उहाँले नेपालमा भन्दा भारतमा उखुको मूल्य सस्तो भएको र भारतले तीन प्रकारले किसानले उखुको मूल्य पाउने व्यवस्था रहेको जानकारी दिनुभयो । कानुन आयोगबाट पास भएर कृषि विधेयक अघि बढेको र त्यसपछि किसान मैत्री कानून आउने जानकारी सचिव शर्माले दिनुभयो ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईले ५ वटा मिलले उखु किसानलाई ८ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जानकारी दिनुभयो । किसानको वक्यौता भुक्तान नगर्ने लुम्बिनी, इन्दिरा, अन्नपूर्ण, हिमालय, श्रीराम मिलको बैंक खाता र जग्गा रोक्का गर्नका लागि पत्राचार भइसकेको जानकारी दिनुभयो ।
प्रतिक्रिया