
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसाबले बनाइएको संरचना हटाएरै छाड्ने बताएका छन् ।
बिहीबार निजगढ विमानस्थलका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयको संरक्षणका लागि मन्त्रीस्तरीय वा मन्त्रिपरिषद्बाट निर्णय गरेर संरचना हटाएरै छाड्ने बताएका हुन् । उनले एकपटकका लागि नभएर सधैँका लागि संग्रहालय परिसरभित्र कुनै व्यापारिक संरचना राख्न नदिइने स्पष्ट पारे ।
त्यस्तै, बैठकमा निजगढ विमानस्थलको निर्माणकार्य अघि बढाउन प्रधानमन्त्रीसहित सबै दल सहमत भएको उनले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भन्दै उनले आठ हजार ५० हेक्टर जमिन विमानस्थलका नाममा आइसकेको जानकारी दिए ।
मन्त्री आलेले विमानस्थलनजिकको नदी संरक्षणका साथै टांगिया बस्ती स्थानान्तरण गरिने पनि बताए ।
उनले विमानस्थललाई अघि बढाउनका लािग विभिन्न मोडलमा छलफल भइरहेको जानकारी गराए ।
प्रतिक्रिया