Pura Samachar

फेरि लकडाउन घोषणा गर्ने तयारीमा सरकार

प्रकाशित: August 4, 2020

फेरि लकडाउन घोषणा गर्ने तयारीमा सरकार

काठमाडौं । सरकार कोरोना भाइरस नियन्त्रणका लागि ११ चैत, २०७६ देखि जारी गरेको लकडाउन साउन ७ गते अन्त्य भएको घोषणा गर्‍यो । लकडाउन अन्त्य गर्नुअघि कोरोना भाइरस संक्रमितको संख्या ‘फ्ल्याट’ (दैनिक एकदेखि दुई सयको हाराहारीमा) झरेको थियो ।

समयमै लकडाउन घोषणा गरेका कारण संक्रमण नियन्त्रणमा आएको भन्दै लकडाउनको निर्णयलाई सरकारले आफ्नो महत्वपूर्ण उपलब्धीमा गणना गरेको थियो । तर, लकडाउन खुला गरेपछि कोरोना भाइरसको संक्रमण व्यापकरुपमा वृद्धि भएको छ ।

प्रदेश १, प्रदेश २ मा समुदाय संक्रमण भइसकेको छ भने काठमाडौं उपत्यका र गण्डकी प्रदेशमा समुदाय संक्रमण भएको विज्ञहरुले दाबी गरेका छन् । तर, सरकारले पनि समुदाय संक्रमण भएको प्रमाण नभेटिएको भन्दै पन्छिँदै आएको छ ।

विज्ञहरुका अनुसार स्रोत नखुलेका संक्रमित फेला पर्नु र संक्रमितमा कडा लक्षण फेला पर्नु समुदायको संक्रमणको अवस्था मानिन्छ । अहिले स्रोत नखुलेका संक्रमितहरु फेला पर्नेक्रम बढ्दोरुपमा देखिएको छ ।

देशभर २ जना संक्रमित हुँदा लकडाउन घोषणा गरेको सरकारले लकडाउनको अवधिमा गर्नुपर्ने आवश्यक तयारी गर्न सकेन । क्‍वारेन्टाइनको व्यवस्थापन, आइसोलेसन कक्षलगायतका पूर्वाधार विकासका लागि लकडाउनलाई सदुपयोग गर्नबाट सरकार चुक्यो ।

मुलुकको अर्थतन्त्र नै धराशयी बन्‍ने स्थितिमा पुगेपछि कुनै तयार र सावधानी बिना सरकारले लकडाउन अन्त्य भएको घोषणा गर्‍यो । लकडाउन अन्त्य भएको घोषणा गर्दैगर्दा कोरोना संक्रमितको संख्या करिब २० हजार पुगेको छ भने ५ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

संक्रमण नियन्त्रणबाहिर गएको अवस्थामा अब संक्रमण नियन्त्रणका लागि फेरि लकडाउन नै उत्तम उपाय भएको विज्ञहरुले विभिन्‍न सञ्‍चारमाध्यमहरुमार्फत बताउँदै आएका छन् ।

दोस्रो चरणको लकडाउन कहिलेदेखि र कुन मोडालिटीमा जारी गर्ने भन्‍ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्यविज्ञसँग परामर्श गर्ने भएका छन् ।

समूदायमा कोरोना संक्रमण फैलिएपछि रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यविज्ञहरूलाई बोलाएर छलफल गर्न लागिएको बताइएको छ ।

कोरोना संक्रमण समूदायमा फैलिएपछि स्थानीय तहले आवागमन रोक्नेदेखि निषेधाज्ञा लगाउनेसम्म निर्णय गरिरहेका छन् । यसअघि वीरगन्‍ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले स्थानीय तहले कोरोना संक्रमण नियन्त्रण गर्न नसकिने बताउँदै केन्द्रले तत्काल कदम चाल्‍नुपर्ने बताएका छन् । उनलाई पनि कोरोना संक्रमण भएको छ ।

वीरगञ्ज, विराटनगर महानगरपालिका जोखिम डरलाग्दो स्थिति देखिएको छ । उपत्यका प्रवेश गर्ने नाकामा गरेको परीक्षण र नतिजाका आधारमा काठमाडौं, ललितपुर, भक्तपुर पनि जोखिममै रहेको विज्ञहरूले औंल्याएका छन् ।

लकडाउन खुलेपछि कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि तीव्ररुपमा वृद्धि भएको छ । पछिल्लो १० दिनमा ११ जनाको मृत्यु भइसकेको छ भने लकडाउनको चार महिनाको अवधिमा ३९ जनाको मात्रै मृत्यु भएको थियो ।

प्रतिक्रिया