
कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको आठौँ चरणको अन्तिम खेलमा सोमबार नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाईज (बिबिसी) ले १-१ को बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसविरुद्ध बिबिसीले अग्रता लिएपनि जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउँन पर्यो । खेलको पहिलो हाफमा एक एक गोल गरेका दुवै टोलीले दोस्रो हाफमा गोल गर्न सकेनन्।
खेलको दोस्रो मिनेटमा नै बिबिसीका शिशिर लेखीको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले पन्च गर्दै बचाएपनि त्यसैको रिबाउण्डमा आएको बललाई रोशन आले मगरले पोेष्टको दिशा दिएका थिए।
त्यसको एक मिनेटमा नै बुद्ध तामाङले फ्रिकीकमा गोल गर्दै पुलिसलाई बराबरीमा ल्याए। खेलको १३ मिनेटमा बीबीसीका जोनाथन रोडीको फ्रिकिक प्रहार सेकेण्ड बारमा लाग्दै बाहिरियो। २५ औँ मिनेटमा पुलिसका निर कुमार राईको कर्नरमा सन्तोष हेमरनको हेडर पोष्ट माथिबाट बाहिरियो।
दोस्रो हाफमा दुवै टोलीले केही अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्। ७१ औँ मिनेटमा बीबीसीका दिपेश गुरुङको फ्रिकिक पोष्ट माथिबाट बाहिरियो। दोस्रो हाफको ४२ औँ मिनेटमा सुमन लामाको फ्रिकीक किपरले पन्च गर्दै बचाए।
जारी लिगमा पुलिसको यो चौथो बराबरी हो। बराबरीसँगै पुुलिस ७ अंकमा ११औं स्थानमा यथावत छ। ८ खेलमा १ मा जित, ४ खेलमा बराबरी र ३ खेलमा हार भोगेको छ।
बिबिसीले भने तेस्रो खेलमा बराबरीको नतिजा निकालेको हो। बीबीसीले एक खेलमा जित, ३ मा बराबरी र ४ खेलमा हार भोग्दै ६ अंक बनाएको छ। टोली १२ औं स्थानमा छ ।
प्रतिक्रिया