
काठमाडौं । दिनप्रतिदिन देशभर कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धिसँगै राजधानीको वीर अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप बढेको छ ।
कोभिड युनिफाइड केन्द्रीय अस्पताल समेत रहेको वीर अस्पतालमा बिरामीको चाप बढेको अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा.भुपेन्द्र बस्नेतले बताएका छन् । बिरामीको चाप बढेसँगै आवश्यक तयारी समेत थालिएको उनको भनाइ छ ।
‘अहिले केही मात्रामा कोभिडका बिरामी बढेको देखिएको छ । यो हप्ताको गतिलाई हेर्दा बढेको देखिन्छ । सबै अस्पतालमा बिरामीको संख्या बढेको छ र सबै तयारी गरेका छौ,’ उनले भने । संक्रमणको संख्या बढ्दै जाँदा तयारीलाई सरकारले तिव्रता दिएको उनको भनाइ छ । वीर अस्पतलामा १०० वटा आइसीयू, १०० वटा एचडीयू, ३०० वटामा अक्सिजनको सुविधा र २ वटा अक्सिजन प्लान्ट तयारी अवस्थामा राखिएको उनले बताएका छन् ।
कोभिडको तयारीको बारेमा विभिन्न चरणमा बैठक गरिरहेको जानकारी दिँदै उनले वीर अस्पतालको सर्जिकल भवनमा ५०० बेड क्षमताको कोभिड अस्पतालको तयारी गरिरहेको बताए । उनले सबैलाई कोभिडबाट बाँच्न सामाजिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न, भिडभाडमा नजान, सभा सम्मेलन नगर्न पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया