Pura Samachar

एकजना सचिव पदका लागि तीन सहसचिवको नाम सिफारिस रामेश्वर दंगाल, मुकुन्द निरौला र शंकरप्रसाद खरेलको नाम

प्रकाशित: January 12, 2022
पूरा समाचार

एकजना सचिव पदका लागि तीन सहसचिवको नाम सिफारिस  रामेश्वर दंगाल, मुकुन्द निरौला र शंकरप्रसाद खरेलको नाम

एकजना सचिव पदका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार बसेको बढुवा सिफारिस समितिले रामेश्वर दंगाल, मुकुन्द निरौला र शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको हो।

दंगाल पहिलो, निरौला दोश्रो र खरेल तेश्रो नम्बरमा सिफारिस भएका छन्। आगामी मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एक सहसचिवलाई सचिवमा बढुवा गर्ने सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ।

दंगाल हाल अर्थ मन्त्रालयमा छन् भने निरौला गृहमा छन्। त्यसैगरी खरेल लोकसेवा आयोगमा छन्।

साधारणतया बढुवामा पहिलो नम्बरमा सिफारिस भएका सहसचिवलाई सचिवमा बढुवा गर्ने परम्परा छ।

यदि यो आधारलाई मान्ने हो भने सहसचिव दंगालको सचिवमा बढुवा हुनुपर्छ।

तर वरिष्ठतालाई मिचेर राजनीतिक पहुँच र प्रभावका आधारमा कनिष्ठतम सहसचिवको समेत बढुवा हुने गरेको छ। यसपाली पनि कनिष्ठतम् सहसचिवको सचिवमा बढुवा हुन लागेको स्रोतको भनाइ छ।

जानकार स्रोतका अनुसार लोकसेवा आयोगका सहसचिव खरेल सचिवमा बढुवा हुन लागेका छन्।

५८ वर्षे सेवाअवधि पूरा गर्न लागेका खरेललाई बढुवा गर्न लागिएको छ। उनले यसअघि नै राजनीतिक तहमा बढुवाका लागि लविङ गर्दै आएका थिए।

खरेललाई बढुवा गर्न अर्का सचिव खगेन्द्र प्रसाद नेपाललाई प्रधानमन्त्री कार्यालय मातहत रहनेगरी विशेष सचिवको दरबन्दी सिर्जना गरी सरुवा गरिसकिएको छ। उक्त पद सचिव नेपालले अवकाश पाएसँगै खारेज गर्ने सरकारको योजना छ।

२०४४ साल साउन १ मा सेवा प्रवेश गरेका सहसचिव खरेल ५८ वर्षे उमेर हदका कारण निवृत्त हुँदैछन्। खरेल २०६९ फागुन २६ मा सहसचिवमा पदोन्नति भएका थिए।

सहसचिव खरेललाई केही दिनकै लागि भए पनि सचिव बनाउन प्रधानमन्त्री कार्यालयमा प्रशासन सेवातर्फ सचिवको दरबन्दी सिर्जना गरिएको उक्त कार्यालयका एक अधिकारीले बताए।

‘खरेल केही दिन मात्रै हाजिर गर्न पाउलान्। तर उनी आफ्नो नाम जसरी पनि सचिवको सूचीमा राख्न लागेका छन्। उनकै लागि प्रधानमन्त्री कार्यालयमा सचिवको दरबन्दी खडा गरिएको छ,’ ती अधिकारीले नेपालखबरसँग भने।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एक प्रशासन र अर्का प्राविधिक सचिवको दरबन्दी थपेको थियो। लगानी बोर्डमा पनि एक सचिव दरबन्दी थप्ने प्रयास थियो। तर सरकार त्यसबाट पछि हटिसकेको छ।

प्रतिक्रिया