Pura Samachar

अब अन्तःशुल्क स्टिकरको छपाइ नेपालमै

प्रकाशित: January 14, 2022
पूरा समाचार

अब अन्तःशुल्क स्टिकरको छपाइ नेपालमै

काठमाडौं, २९ पुस : अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिनुभएको छ ।काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको आज निरीक्षण गर्दै उहाँले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिनुभएको हो । “हामीलाई करिब तीन अर्ब पिस स्टिकर चाहिँदोरहेछ । त्यो तीन अर्ब स्टिकर छाप्न यस्ता मेसिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न आग्रह गर्छु”, मन्त्री शर्माले भन्नुभयो, “कमसेकम अर्थ मन्त्रालयलाई आवश्यकपर्ने स्टिकर उपलब्ध गराउनुहोस् ।” उहाँले अब एक वर्षको अवधिमा मन्त्रालयलाई आवश्यकपर्ने परिमाणको स्टिकर छाप्न सक्नेगरी व्यवस्था गर्न निर्देशन दिनुभयो । जडान हुँदै गरेका अत्याधुनिक मेसिनले नोटबाहेक अन्य सबै किसिमका मुद्रण गर्ने जानकारी आफूलाई दिइएको बताउँदै उहाँले यसको ठूलो बजारसमेत रहेको उल्लेख गर्नुभयो । उहाँले बैंक, यातायात, मालपोतलगायतका विभिन्न क्षेत्रको काम यसले पाउनसक्ने बताउनुभयो । आफूले सुरक्षण प्रिन्टिङ प्रेसमा नाफा मात्रै देखेको स्पष्ट पार्दै मन्त्री शर्माले यसका लागि सरकार लगानी गर्न नहिच्किचाउने बताउनुभयो ।“धेरै ठूलो व्यापार यसले गर्नसक्ने भएकाले यसमा लगानी भनेको नाफाका लागि हो”, उहाँले भन्नुभयो, “यहाँ मैले घाटा देखिनँ । नाफा मात्रै हुने ठाउँमा लगानी गर्न सरकारले पनि हिच्किचाउनुपर्छ जस्तो मलाई लाग्दैन ।”उहाँले नेपालमा कुनै पनि हालतमा चोरी नहुने तथा नक्कली स्टिकर बनाउन नमिल्ने स्तरको सुरक्षित स्टिकर छाप्नुपर्ने आवश्यकता औँल्याउँदै अब सुरक्षण मुद्रण केन्द्रले सो परिपूर्ति गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया