
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबारबाट नवौं चरणका खेलहरु सुरु हुँदैछ। लिगको नवौं चरणअन्तर्गत शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती दुई खेलहरु हुनेछन् । पहिलो खेलमा विभागीय टोली एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र शेर्पाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । एपीएफ लिगको दशौँ स्थानमा रहेको छ । एपीएफले ८ खेलमा ७ अंक जोडेको छ। आज हिमालयनलाई हराएर एपीएफ अंक तालिका सुधार्न चाहन्छ । जसका लागि एपीएफले तयारी राम्रो गरेको छ । ‘तयारी राम्रो भएको छ । अस्तिको खेलमा थोरै कमीकमजोरी रहेको छ । स्कोर गर्न सकेनौं । त्यसलाई मध्येनजर गरेर तयारी गरेका छौँ’, एपीएफका सहायक प्रशिक्षक रत्न महर्जन भन्छन्। हिमालयन लिगको छैटौं स्थानमा रहेको छ । हिमालयनले ८ खेलमा ११ अंक जोडेको छ । एपीएफलाई हराएर हिमालयन शीर्ष पाँचमा उक्लन चाहन्छ । यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र सातदोबाटोबीचको खेल ४ः४५ बजे सुरु हुनेछ । मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सातदोबाटोलाई हराएर मनाङ शीर्ष स्थानमा उक्लन चाहन्छ । मनाङका प्रशिक्षक तोपे फुजाले ३ अंकको लागि मैदान उत्रने बताएका छन् । ‘सातदोबाटो नयाँ टिम हो । उनीहरूले राम्रो प्रदर्शन गरिरहेका छन् । सबै टिमले राम्रो खेलिरहेका छन’, फुजाले प्रि म्याच कन्फरेन्समा भने, ‘हामी ३ अंकको लागि खेल्ने छौँ ।’ सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ । मनाङलाई हराएर सातदोबाटो अंक तालिका सुधार्न चाहन्छ । सातदोबाटोका सहायक प्रशिक्षक सुरज महर्जनले मनाङविरुद्ध राम्रो नतिजाका लागि खेल्ने बताए । ‘मनाङ एक राम्रो टिम हो । लिगको सबैभन्दा राम्रो टिम हो । अस्तिको खेलमा मनाङले गोल राम्रो हानेको छ । सातदोबाटोले राम्रो गरिरहेको छ’, उनले भने, ‘हामीले धेरै कुराहरु सुधार गरेका छौँ । मनाङसँग पहिलो पटक खेल्दै छौँ । हाम्रो लागि यस पटक सबै टिम कठिन छ । मनाङसँग राम्रो नतिजा ल्याउने योजना गरेका छौँ ।’
प्रतिक्रिया