
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक युवकको हत्या भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ र १२ मा पर्ने बलम्बु स्थित पिंगलमा कैँचीले रोपेर युवकको हत्या गरिएको हो । आइतबार मध्यान्ह दुईजना दाजुभाइको आक्रमणबाट चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बुमा बस्ने २६ वर्षीय रोशन रिजालको मृत्यु भएको छ ।
हत्यामा संलग्न मकवानपुरको चित्लाङ घर भई चन्द्रागिरि–५ स्थित किसिपीडीमा बस्ने वर्ष १५ का अनुज बस्नेत र उनका दाजु २१ वर्षीय अभिषेक बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
आरोपीहरूले कैँची र दाउराले हिर्काउँदा गम्भीर घाइते भएका रोशन रिजालको एपीएफ अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताउनुभयो । आक्रमणबाट रुपन्देही घर भई चन्द्रागिरि स्थित कालापानीमा बस्ने निरज मगर घाइते भएका छन् ।
मृतक र आरोपी साथी हुन् । आपसी विवाद हुँदा १५ वर्षीय किशोर अनुजले कैँचीले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मृतकको छातीको देब्रेतर्फ गहिरो चोट देखिएको र घटनाबारे अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।
प्रतिक्रिया