Pura Samachar

चुनावको मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

प्रकाशित: January 20, 2022
पूरा समाचार

चुनावको मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज  बस्दै

चुनावको मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । मंगलबारको बैठकमा समयमै चुनाव गर्नेबारे छलफल भए पनि टुङ्गोमा नपुगेपछि आज फेरि सत्तारुढ दल सहभागी समन्वय समितिको बैठक बस्न लागेको हो । यसअघि हिजो मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेटवार्ता भएको थियो ।

निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले अझै यसबारे निर्णय गरेको छैन । सत्ता गठबन्धनले चुनाव सार्न लागेको भन्दै निर्वाचन आयोग, नागरिक समाज, प्रमुख प्रतिपक्ष एमाले,पालिकाका प्रतिनिधिले खबरदारी गर्दै आएका छन् ।

बैशाखमा चुनाव गर्नको लागि यसै हप्ताभित्र मिति घोषणा गर्नुपर्ने दबाब बढेपछि आज या भोलिसम्म निर्णय गर्ने सरकारले तयारी गरेको छ । तर बैशाखमा संसदीय र कात्तिकमा स्थानीय चुनाव गर्नेबारे सत्ता गठबन्धनमा नयाँ बहस सुरु भएको छ ।

स्थानीय तह निर्वाचन ऐनमा सरकारले दुईभन्दा बढी चरणमा चुनाव गर्न सक्ने तर पहिलो चरणको मितिलाई चुनाव सम्पन्न भएको मानिने उल्लेख छ । यस्तै ऐनमा गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगाडि अर्को चुनाव हुने उल्लेख छ ।

स्थानीय तह निर्वाचन ऐन अनुसार, जति चरणमा निर्वाचन भए पनि पहिलो चरणको चुनाव भएको ७ दिनपछि कार्यकाल सुरु भएको मानिने भएकाले पालिकाका पदाधिकारीको कार्यकाल आउँदो जेठ ५ मा सकिने निर्वाचन आयोगको व्याख्या छ ।

प्रतिक्रिया