Pura Samachar

राफयल नाडाल अष्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश

प्रकाशित: January 22, 2022
पूरा समाचार

राफयल नाडाल अष्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश

एजेन्सी – पाँचौ वरीयताका स्पेनिस टेनिस खेलाडी राफयल नाडाल अष्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् । मेलवर्न पार्कमा शुक्रबार भएको ३०औं वरीयताका रसियन करिन खाँचानोभलाई ३–१ को सेटमा पराजित गर्दै नाडालले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

एक पटकको च्याम्पियन तथा पाँचपटक फाइनलमा प्रवेश गरेको ३५ वर्षीय नाडालले खाँचानोभलाई ६–३, ६–२, ३–६ र ६–१ को सेटमा हराउन सफल भयो । अब नाडालले प्रि–क्वाटरफाइनलमा १५औं वरीयताका रसियन अस्लान कारातसेभसँग खेल्नेछ ।

नाडालले ओलम्पिकमा रजत पदक विजेता खाचानोभसँग कुनैपनि समय दवावमा खेल्नुपरेन । प्रि–क्वाटरफाइनलमा पुग्ने उनी एकमात्रै पूर्व च्याम्पियन हुन् । उनले २००९ मा स्वीस रोजर फेडेररलाई हराएको पहिलोपटक अष्ट्रेलियन ओपनको उपाधि जितेको थियो । त्यसयता उनले २०१२, २०१४, २०१७ र २०१९ मा फाइनलको यात्रा तय गरेपनि च्याम्पियन बन्न भने सकेका छैनन् ।

कोरोना खोप नलगाएका कारण खेल्नबाट बञ्चित रहेका २० पटकको ग्रान्डस्लाम च्याम्पियन सर्वियन नोभाक जोकोभिच र चोटबाट पूनरागमनको प्रयासमा रहेको स्वीट्जरल्यान्डका रोजर फेडेररको अनुपस्थितिमा उनलाई यसपटक च्याम्पियन बन्ने सुवर्ण अवसर रहेको छ । उनी पनि चोटबाट पूनरागमन गर्दै पहिलो ग्रान्डस्लाम खेलिरहेका छन् ।

यस्तै तेस्रो वरीयताका जर्मनीका एलेक्सान्डर जेभेरेभ र सातौ वरीयताका इटालीका माटियो बेरारटिनीले पनि अन्तिम १६ मा स्थान बनाएका छन् ।

जेभेरेभले मोल्दोभाका राडु अल्बोटलाई ६–३, ६–४ र ६–४ को सोझो सेटमा हराउँदा बेरारटिनीले स्पेनका १८ वर्षीय कार्लाेस एल्काराजलाई पाँचौ सेटमा हराउन सफल भएको हो । बेरारटिनीले ६–२, ७–६ (७–३), ४–६, २–६ र ७–६ (१०–५) को संघर्षपुर्ण सेटमा जित निकाल्न सफल भएको हो ।

प्रतिक्रिया