Pura Samachar

नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

प्रकाशित: February 12, 2022
पूरा समाचार

नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज शनिबार युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले सिरिजको दोस्रो खेलमा युएईसँग खेल्ने लागेको हो । अल अमरेट क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११:४५ बजे सुरु हुनेछ ।

नेपाल युएईलाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेल नेपालले ओमानलाई ६ विकेटले हराएको थियो ।

युएईविरुद्धको पछिल्लो तीन भेटमा भने नेपालले दुई जित र एकमा हार व्यहोरेको छ । तर, आज बलियो टोलीविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन।

नेपालले सिरिजको अन्तिम खेलमा सोमबार आयरल्यान्डसँग खेल्नेछ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको हो।

​ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् ।  समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ ।  नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।

नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ ।

नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ । फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।

फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

प्रतिक्रिया