Pura Samachar

एमाले संसदीय दलको बैठक आज बस्दै

प्रकाशित: February 14, 2022
पूरा समाचार

एमाले संसदीय दलको बैठक आज  बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक आज सोमबार बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (कीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्ताव आएपछि एमालेले प्रतिरोध गर्ने निर्णय गरेको छ ।

महाभियोगपछि जबरा निलम्बित भइसकेका छन् । महाभियोग दर्ता भएसँगै आइतबार बसेको एमाले सचिवालय बैठकले महाभियोग लोकतन्त्रमाथि प्रहार र गणतन्त्रमाथि कमजोर बनाउने षड्यन्त्र भएको निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।

त्यस्तै, नेकपा एमालेले सभामुख अग्नि सापकोटालाई दुई विकल्प दिएको छ । मार्गप्रशस्त गर्ने वा आफ्नो गल्तीलाई सच्याएर अघि बढ्नेबारे उनलाई एमालेले विकल्प दिएको हो ।

आइतबार एमाले अध्यक्ष केपी अ‍ोली निवास बालकोटमा बसेको सचिवालय बैठकले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको विषयमा सभामुखको भूमिकालाई दिएर सापकोटालाई दुई विकल्प दिएको हो ।

‘सभामुखको भूमिका उहाँले निर्वाह गर्न सक्नुभएन । उहाँको भूमिकाप्रति हाम्रो आपत्ति रहेको छ । १४ जना सांसदलाई कारबाही गर्ने एमालेको निर्णयमा सभामुखले आफ्नो गल्तीलाई सच्याउने वा जारी अवरोध अन्य गर्नका लागि मार्गप्रशस्त गर्ने भन्ने दुई विकल्प हामीले दिएका छौँ’, बैठकपछि महासचिव शंकर पोखरेलले भने ।

प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग प्रस्तावको प्रतिवाद कसरी गर्ने भन्नेबारे पार्टीले संसदीय प्रक्रियाबाटै टुंग्याउने पनि उनले बताए ।

प्रतिक्रिया