
युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज (मंगबालर ) फ्रेन्च क्लब पिएसजी र स्पेनिस क्लब रियल मड्रिड अन्तिम १६ को पहिलो लेगको खेलमा भिडन्त गर्दैछन् । पहिलो लेगको खेल पिएसजीको घरेलु मैदानमा हुँदैछ । सो खेलका लागि रियलको टोली आजै पेरिस उत्रिसकेको छ । यो खेललाई अन्तिम १६ राउन्डको सबैभन्दा ठूलो र प्रतीक्षित खेल मानिएको छ । किनभने, यो खेलमा यतिबेला युरोपको नम्बर १ मानिएको पिएसजी र स्पेनिस महारथि रियल मड्रिड आमनेसामने हुनेछन् ।रियल त्यो टिम हो, जसले च्याम्पियन्स लिग सबैभन्दा धेरै १३ पटक जितेको छ । रियलले २०१६ देखि २०१८ को बीचमा च्याम्पियन्स लिगमा ह्याट्रिक उपाधि नै जितेको थियो । रियल यस प्रतियोगिताको राजा टिम हो । उसले जति सफलता यस प्रतियोगितामा अन्य कुनै पनि टिमले पाएको छैन । यता, पिएसजीले भने आजसम्म च्याम्पियन्स लिग एकपटक पनि जित्न सकेको छैन । उसका लागि सबैभन्दा ठूलो सफलता भनेको एकपटक फाइनलसम्मको यात्रा मात्रै हो ।यस्तो स्थिति भएका दुई टिम यसपटक अन्तिम १६ मै भिड्दा यो खेलमाथि धेरैको नजर हुने भइहाल्यो । पिएसजीमा लिओनल मेस्सी, नेइमार, केलियन एमबाप्पे, सर्जियो रामोस, केलर नाभासजस्ता खेलाडी भएकाले पनि यो खेल धेरै चर्चामा छ । पिएसजीको प्रतिस्पर्धी रियल हुनु त झनै विशेष हुने भइहाल्यो । १३ पटक च्याम्पियनस लिग जितेको टिम र एकपटक पनि जित्न नसकेको टिमको भिडन्त कस्तो होला ? यो खेलमा कसले कसलाई निराश बनाएर क्वार्टरफाइनल पुग्ला ? अहिले यसमा धेरैको ध्यान रहेको छ ।यसैबीच, फ्रान्सका लिजेन्ड खेलाडी थिएरी हेनरीले एक टिभी शोमा यो खेलको नतिजाबारे भविष्यवाणी गरेका छन् । उनी बार्सिलोनाका पूर्वखेलाडी र इंग्लिस क्लब आर्सनलका लिजेन्ड खेलाडी हुन् । उनी समग्रमा फुटबल जगतका एक महान् खेलाडीमा पर्छन् । पिएसजी र रियल अन्तिम १६ को पहिलो लेगको खेलमा पिएसजीको घरमा भिड्न लाग्दा हेनरीले सो खेलको नतिजाबारे आफ्नो धारणा राखेका हुन् । उनले यो खेलमा पिएसजी ज्यादा जितको हकदार रहने तर रियलको अनुभवलाई रोक्न नसके नतिजा जे पनि आउन सक्ने हेनरीले बताएका छन् ।‘मेरो विचारमा यो एक रोमाञ्चक खेल हुन गइरहेको छ । हामीले फेरि एकपटक भव्य खेल हेर्न गइरहेका छौं । मलाई के लाग्छ भने, पिएसजी र रियल मड्रिडको खेलमा पिएसजी ज्यादा जितको हकदार हुनेछ । किनभने, त्यो टिममा लियो मेस्सी, केलिएन एबाप्पे र नेइमारजस्ता खेलाडी सँगै छन् । आजको पिएसजीले विश्वका जुनसकै टिमलाई पनि हराउन सामथ्र्य राख्छ । म यो कुरामा विश्वास गर्छु । सायद धेरैलाई यस्तै लाग्छ,’ हेनरीले भने ।
प्रतिक्रिया