Pura Samachar

सर्वोच्च अदालत बिहान ११ बजेबाटै इजलास बस्ने निर्णय

प्रकाशित: February 18, 2022
पूरा समाचार

सर्वोच्च अदालत बिहान ११ बजेबाटै इजलास बस्ने निर्णय

काठमाडौं । सर्वोच्च अदालतले बिहान ११ बजेबाटै इजलास बस्ने निर्णय गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रबार पूर्ण बैठक राख्दै इजलास बिहान ११ बजे बाटै बस्ने निर्णय गराउनुभएको हो । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनको संयुक्त आन्दोलनका कारण इजलास मध्यान्ह १२ बजेपछि मात्रै बस्ने गरेको थियो । शुक्रबारको फुलकोर्टले इजलास बिहान ११ बजे बाटै बस्ने निर्णय गरेको छ ।

त्यसैगरी न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको न्यायपालिका सुधारका प्रतिवेदन कार्यान्वयनमा लैजान गर्नुपर्ने काम गर्ने पनि फुलकोर्टमा सहमति भएको छ । छलफलमा सहभागी एक न्यायाधीशकाअनुसार गोला प्रणाली गर्दा हेर्न नमिल्ने न्यायाधीशकोमा पर्ने मुद्दालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि प्रशासनलाई जिम्मेवारी दिने र पूर्ण स्वचालित गोलाप्रणालीमा जानका लागि आवश्यक नीति तयार गर्न यसअघि बनेको समितिले चाँडै प्रतिवेदन दिने पनि सहमति भएको छ ।

पूर्ण स्वचालितरुपमै पेशी व्यवस्थापन गर्ने सम्बन्धी विषयमा अध्ययन गर्न न्यायाधीश हरिकृष्ण कार्कीकै नेतृत्वमा समिति बनेको थियो । उक्त समितिले प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाउने भनिएपनि सर्वोच्च अदालतमा द्वन्द्व बढेपछि उक्त प्रतिवेदन बुझाइएको थिएन । उक्त समितिले गरेको अध्ययनको प्रतिवेदन पनि तत्कालै उपलब्ध गराउन भनिएको र प्रतिवेदन र सुझावका आधारमा अगाडि बढ्ने सहमति भएको छ ।

प्रतिक्रिया