Pura Samachar

‘ए’ डिभिजन लिग: च्यासल युथ क्लब रेलिगेसनमा पर्ने पहिलो टोली

प्रकाशित: February 19, 2022
पूरा समाचार

‘ए’ डिभिजन लिग: च्यासल युथ क्लब रेलिगेसनमा पर्ने पहिलो टोली

शनिबार फ्रेन्ड्ससँग २–१ को हार बेहोर्दै च्यासल लिगको एक खेल बाँकी छँदै शीर्ष डिभिजनबाट घटुवा भएको हो । च्यासल शीर्ष डिभिजनको तेस्रो सिजनमै रेलिगेसनमा परेको हो । फ्रेन्ड्ससँगको हारपछि च्यासलको १२ खेलबाट ६ अंक छ । अब बाँकी एक खेलमा जित हात पारेपनि च्यासलको रेलिगेसन टर्ने छैन । च्यासलले लिगको अन्तिम खेलमा सातदोबाटोसँग खेल्न बाँकी छ ।

च्यासलमाथिको जितसँगै फ्रेन्ड््सले रेलिगेसन टार्ने सम्भावना बलियो बनाएको छ । फ्रेन्ड्सको १२ खेलबाट १० अंक पुगेको छ । एक खेल कम खेलेको जावलाखेलको १० तथा पुलिसको ११ अंक छ । एक खेल कम खेलेको ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को ७ अंक छ ।

फुटबललाई नै आधार बनाएर २०३७ मा स्थापित भएको च्यासलले २०६४ मा ‘सी’ डिभिजनको लागि छनोट चरण खेलेको थियो । छनोटमा सफल भएपछि २०६५ मा ‘सी’ डिभिजनमा बढुवा भएको थियो । २०६६ मा ‘सी’ डिभिजन लिगको उपविजेताको रुपमा च्यासलले ‘बी’ डिभिजनमा बढुवा हुन सफल भएको थियो ।

त्यसको सातवर्षको प्रयासपछि च्यासल २०७२ मा ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको थियो । त्यसपछि एक सिजन खेल्न नपाउने भएपनि २०७४ मा लिग नहुँदा च्यासलले २०७५ मा शीर्ष डिभिजन खेलेको थियो । च्यासलले यो सहित २०७५ को रेलिगेसनविनाको र २०७६ को लिग खेलेको थियो । दुवै सिजनमा च्यासल अंक तालिकामा मध्य टोलीको रुपमा रहेपनि यसपटक रेलिगेसनमा परेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा फ्रेन्ड्सको जितमा जमोल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । उनले ६ मिनेटको अन्तरमा दुई गोल गरेका थिए । च्यासलका मौसा एवागानाले एक गोल फर्काएपनि हार टार्न सकेन ।

खेलको १६औं मिनेटमा मोहित गुरुङको प्रहार आकासियो । २०औं मिनेटमा कप्तान नाथानिल जुडे गार्सियाको फ्रिकिक पोस्टनजिकैबाट बाहिरिदा फ्रेन्ड्स अग्रता लिनबाट चुक्यो । २२औं मिनेटमा राजीव लोप्चनको प्रहार क्रसबारमा लागेर फर्कदा च्यासल अग्रता लिनबाट चुक्यो । अभिषेक लिम्वुको लामो थ्रु बललाई अषिम भुषालले हेडरमार्फत क्लियर गर्ने प्रयास गरेपनि राम्ररी क्लियर हुन नसक्दा अभिषेककै प्रहारलाई गोलरक्षक राहुल रामचन्द्र यादवले पञ्च गर्दा राजीवको प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।

३८औं मिनेटमा जमोल एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । रोनेल एन्थोनी पउलको लामो पासलाई कप्तान नाथानिल जुडे गार्सियालाई हेडमार्फत मिलाइदिएको पासमा फ्रान्कोइसले अभिषेक लिम्बुलाई बिट गर्दै गोलरक्षक प्रदीप भण्डारी अघि बढेको अवस्थामा खाली पोस्टमा गोल गर्न सफल भएका थिए ।

४३औं मिनेटमा जमोल एन्थोनी फ्रान्कोइसले पेनाल्टीमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर पारे । ४१औं मिनेटमा अभिषेक लिम्बुले पेनाल्टी बक्समा जमोल एन्थोनी फ्रान्कोइसलाई फउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले फ्रेन्ड्सलाई पेनाल्टी प्रदान ग¥यो । जसमा उनी आँफैले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर पारे ।

५६औं मिनेटमा मौसा एवागानाले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । पेनाल्टी बक्समा गोलरक्षक राहुल रामचन्द्र यादवले राजीव लोप्चनमाथि फउल गर्न पुगेपछि रेफ्री प्रज्वल क्षेत्रीले च्यासललाई पेनाल्टी प्रदान गरेको थियो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा विकास मेराग्लियाको क्रसमा कुशल फुयालको फ्रि हेडर गोलरक्षक राहुलको हातमा पुग्दा च्यासल बराबरीबाट चुक्दा रेलिगेसनमै प¥यो ।

च्यासलले लिगको १२ खेलमा १ जित, ३ बराबरी र ८ हार बेहो¥यो । च्यासलले लिगमा एपिएफलाई मात्रै १–० ले हराउन सफल हुँदा एनआरटीसँग १–१ गोलको बराबरी तथा संकटा र बिबिसीसँग समान गोलरहित बराबरी खेलेका थिए । च्यासलले लिगमा थ्री स्टार, आर्मी, जावलाखेल, शेर्पा, मनाङ, पुलिल, मछिन्द्रसँग फ्रेन्ड्ससँग हार बेहो¥यो ।

प्रतिक्रिया