
काठमाडौं ।बंगलादेशविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा पाहुना टोली अफगानिस्तान ६१ रनले पराजित भएको छ । बिहीबार भएको खेलमा मिरपुरस्थित शेरे बंगला राष्ट्रिय रंगशालामा बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १७.४ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।
उसका लागि नजिबुल्लाह जद्रानले २७, अजमातुल्लाह उमरजाईले २० र कप्तान मोहम्मद नाबीले १६ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बंगलादेशका नसुम अहमदले ४ ओभरमा १० रन दिएर ४ विकेट लिए ।
त्यस्तै, शोरिफुल इश्लामले तीन, शाकिवलअल हनले दुई र मुस्तफिजुर रहमानले एक विकेट हात पारे । त्यसअघि, टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५८ रन बनायो ।
उसका लागि लिटन दासले अर्धशतकीय पारी खेले । उनले ४४ बलमा चार चौका र दुई छक्कासहित ६० रन बनाए । त्यस्तै, अफिफ होसेनले २५, मौनिम शहरयारले १७ र कप्तान महमुदुल्लाहले १० रनको योगदान दिए ।
अफगानिस्तानका फजलहक फारुकी, अजमातुल्लाह उमरजाईले दुई/दुई, राशिद खान र क्विस अहमदले एक/एक विकेट लिए । आजको जितसँगै बंगलादेशले दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । यी दुई टोलीबीचको दोस्रो खेल ५ मार्चमा हुनेछ ।
प्रतिक्रिया