Pura Samachar

म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ४–१ को जित

प्रकाशित: March 7, 2022
पूरा समाचार

म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ४–१ को जित

एजेन्सी, फागुन २३ इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा सिजनको दोस्रो म्यानचेस्टर डर्बी भिडन्तमा म्यानचेस्टर सिटीले उत्कृष्ट जित निकालेको छ । आज आइतबार राति भएको खेलमा सिटीले सहरी प्रतिस्पर्धी म्यानचेस्टर युनाइटेडमाथि ४–१ को जित हात पारेको हो । आफ्नो घरेलु मैदानमा सिटीलाई जिताउन बेल्जियन प्लेमेकर केभिन डे ब्रुयाने नायक बने । उनले टिमको जितमा २ गोल ठोके भने १ गोलमा असिस्ट समेत प्रदान गरे । टोलीका ३ वटै गोलमा उनले योगदान दिए

यो जितसँगै सिटीले आफ्नो रंगशाला इत्तिहादमा युनाइटेडसँग लगातार तीन खेल हारेपछि चौथो खेलमा जितको खुसी मनाउन पाएको छ । नत्र यसअघि सिटीको घरमा भएका पछिल्ला ३ वटै खेलमा सिटीलाई युनाइटेडले धुलाइ गरेको थियो । आज भने सिटीले युनाइटेडसँग मिठो बदला लिँदै घरेलु मैदानमा तीन हारपछि चौथो खेलमा जितको स्वाद चाखेको छ ।

डर्बी भिडन्तमा सिटीले जित निकाल्दा उसले शीर्ष स्थानमा सहज अग्रता कायमै राखेको छ । यदि यो खेल हारेको भए यसको सोझो फाइदा दोस्रो स्थानको लिभरपुललाई पुग्ने थियो । तर, सिटीको जितसँगै लिभरपुलका लागि तत्कालै उपाधि होड खुला नहुने भएको छ । यता, यो हारसँगै युनाइटेडको चौथो स्थान भने चिप्लिएको छ । ताजा अवस्थामा ऊ पाँचौं स्थानमा झरेको छ । आजको खेलमा युनाइटेडका क्रिस्टियानो रोनाल्डो, राफाएल भाराने, लुक श लगायत प्रमुख खेलाडी खेलेका थिएनन् ।

आफ्नो घरमा सिटीले खेलमा पहिला अग्रता लिएको थियो । खेल सुरु भएको ४ मिनेट २७ सेकेन्डमै डे ब्रुयानेले लो सटमा उत्कृष्ट गोल गरेर पाहुना टोलीलाई झट्का दिएका थिए । तर, खेलको २२औं मिनेटमा युनाइटेड खेलमा फर्कियो । इंग्लिस युवा खेलाडी जाडोन सान्चोले बक्स लाइन नजिकैबाट शानदार सटमा उत्कृष्ट गोल गरेर खेल १–१ को बराबरी बनाएका थिए । सान्चोले पाउल पोग्बाको पासमा निकै उत्कृष्ट गोल गरेका थिए ।

तर, त्यसको ६ मिनेटमै सिटीले दोस्रो गोल गरेर पुनः खेलमा अग्रता लियो । यसपटक पनि डे ब्रुयानेले नै व्यक्तिगत दोस्रो गोल गरेर खेल २–१ बनाए । सिटीका दुई प्रहार युनाइटेडका गोलकिपर र डिफेन्डरबाट रिबाउन्ड भएर आएको बल क्लियर हुन नसक्दा अगाडि रहेका डे ब्रुयानेले कडा लो सटमा सुन्दर गोल गरेका थिए । त्यसपछि खेलको ६८औं मिनेटमा सिटीले दोस्रो गोल पनि गरेपछि युनाइटेडका हातबाट खेल फुत्किएको थियो ।

यसपटक सब्सिच्यूट खेलाडी रियाद महारेजले कर्नर किकबाट आएको बलमा कडा हाफ भलीमा शानदार गोल गरेर सिटीलाई जितको बाटो देखाएका थिए । उनको गोलमा त्यसअघि नै २ गोल गरेका डे ब्रुयानेले असिस्ट प्रदान गरेका थिए । तेस्रो गोल खाएपछि युनाइटेडले अन्तिम समय ९०औं मिनेटमा चौथो गोल पनि खायो । सो गोल महारेजले गरेका थिए । उनको गोललाई भिएआरले मान्यता दिएको थियो । सो गोलसँगै खेल सिटीले ४–१ ले जित्यो । यसअघि युनाइटेडको घरमा भएको पहिलो लेगमा पनि सिटीले युनाइटेडलाई ०–२ ले धुलाइ गरेको थियो ।

आजको खेलमा घरेलु टोली सिटी खेलभरि नै पूराका पूरा हाबी भएको थियो । सिटीले युनाइटेडविरुद्ध कूल ७० प्रतिशत बल पकडमा राखेर खेल्दा ७४० पास खेलेको थियो । सो क्रममा उसले २४ पटक सट हान्दा १० सट अन टार्गेट रहेका थिए । यता, युनाइटेडले जम्मा ३० प्रतिशत मात्रै बल पाउँदा ३२६ मात्रै पास खेलेको थियो । सो दौरान उसले सिटीको पोस्टा जम्मा ५ पटक सट हान्दा २ सट मात्रै अन टार्गेट थिए ।

अब यो जितपछि सिटीको खातामा २८ खेलपछि कूल ६९ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको लिभरपुलको खातामा ६३ अंक छ । २६ खेल खेलेको तेस्रो स्थानको चेल्सीको खातामा ५३ अंक छ भने २५ खेल खेलेको आर्सनलको खातामा ४८ अंक छ । सिटीसँग पराजित युनाइटेड २८ खेलपछि ४७ अंकका सीमित हुँदै पाँचौं स्थानमा झरेको छ ।

प्रतिक्रिया