Pura Samachar

श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ९७ रनको मध्यम लक्ष्य

प्रकाशित: March 8, 2022
पूरा समाचार

श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ९७ रनको मध्यम लक्ष्य

काठमाडौं । नेपालले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ९७ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपाल ४३.४ ओभरमा १ सय ९६ रनमा अल आउट भयो ।

नेपालका मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रन बनाए । नेपाल पहिलो खेलमा सोमबार नेभीसँगनै ३७.१ ओभरमा २ सय १४ रनमा अल आउट भएको थियो । उक्त खेलमा दीपेन्द्रलेनै सर्वाधिक ४३ रन बनाएका थिए । पहिलो खेलको तुलनामा नेपालले दोस्रो खेलमा ब्याटिङमा झनै खराब प्रदर्शन गरेको हो ।

तल्लोक्रमका ब्याटर भीम सार्कीले २८, पवन सरार्फले २२ र विवेक यादवले २६ रन बनाए । नेपालका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । खराब ब्याटिङ गर्नेक्रममा श्रीलंकाको स्थानिय क्लबसँग नेपालको सिनियर टोलीका शीर्षक्रमका प्रमुख चार ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालले ओपनर ज्ञानेन्द्र मल्ल १ र कुशल भुर्तेल ३ रनमा गुमाएको थियो । त्यसपछि युवा ब्याटर रोहित कुमार पौडेल ३ र विनोद भण्डारी २ रनमा आउट भएपछि नेपालले निकै खराब सुरुवात गरेको थियो । खराब सुरुवात गर्नेक्रममा नेपालले सुरुवाती ३० रन जोड्न प्रमुख चार ब्याटर गुमाएको थियो । त्यसपछि मध्यक्रम र तल्लोक्रमका ब्याटरले इनिङ उकासेका थिए । विक्रम सोब १ र सागर ढकाल ८ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने १४ रनमा अविजित रहे ।

नेपालले पहिलो खेलबाट टोलीमा ३ परिवर्तन गर्दै पवन सर्राफ, भीम सार्की र विवेक यादवलाई प्लेइङ ११ मा ल्याएको छ । पहिलो खेल खेलेका आसिफ शेख, कमलसिंह ऐरी र करण केसीले दोस्रो खेलका लागि विश्राम पाएका छन् । पहिलो खेलमा नेपालले १ सय ११ रनको जित निकालेको थियो ।

युएईमा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई त्रिकोणात्मक सिरिज अघि नेपालले अभ्यासको लागि श्रीलंका भ्रमण गरेको हो । श्रीलंकामा एक हप्ताको बसाईंपछि मार्च १४ मा नेपाली टोली युएई पुग्नेछ । यसपछि टोलीले मार्च १० मा श्रीलंका पुलिस र मार्च ११ मा प्रथम श्रेणीका खेलाडी सम्मिलित कोलोम्बो ११ सँग खेल्नेछ ।

प्रतिक्रिया