बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौँ झापा गोल्डकपमा आज हुने अन्तिम क्वाटरफाइनल खेलमा घरेलु टोली झापा ११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसी भिड्दैछन् ।

प्रतियोगितामा यी दुवै टिम सोझै क्वाटरफाइनल खेल्न लागेका हुन् । आजको खेल अत्यन्तै रोमान्चक र प्रतिष्पर्धात्मक हुने आयोजकले जनाएको छ । घरेलु दर्शको भरपूर समर्थनका साथका सिक्किमलाई स्तब्ध पार्दै अर्को चरण प्रवेश गर्ने झापा ११ को दाउ छ । यता सिक्किम पनि घरेलु टोलीलाई पराजित गर्दै आगामी यात्रा तय गर्ने दाउमा हुनेछ ।झापा ११ का तर्फबाट विशाल राई, देवेन्द्र तामाङलगायत राष्ट्रिय टोलीका सदस्य रहने छन् । तर, अन्य खेलाडीका बारेमा केही खुलाइएको छैन । विगतको संस्करणमा जस्तो यसपटक झापा ११ को सेट टिम भने छैन । तर, सी डिभिजनका लागि तयार जुनियर खेलाडीले पनि स्थान बनाउने बताइएको छ जानकारीअनुसार झापा ११ का लागि राष्ट्रिय खेलाडीहरु विमल घर्तीमगर, दीप कार्की र अफ्रिकन खेलाडी निया पनि रहनेछन् । देवेन्द्र, विशाल र विमल लिग च्याम्पियन मछिन्द्र एफसीका खेलाडी हुन् भने दीप हिमालयन शेर्पा क्लबका हुन् ।यस्तै, विश्वास श्रेष्ठ, रामजी र मनिष थापाले पनि आज झापा ११ को जर्सीबाट मैदान प्रवेश गर्नेछन् । उनीहरु हिमालयन शेर्पाका खेलाडी हुन् ।

बुधबार भएको तेस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली भारत दार्जिलिङको एमएफसीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । आर्मी तीन संस्करणको विजेता टोली हो ।