
एजेन्सी – स्टार फरवार्डद्धय केलियन एमबाप्पे र नेयमारसँगै लियान्द्रो ड्यानियल पारेडेसले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकाल्दै शीर्षस्थानमा स्पष्ट १५ अंकको अग्रता लिन सफल भएको छ पिएसजीले बोर्डेअक्समाथि ३–० को सहज जित निकालेको हो । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा पिएसजीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थप्दै जित पक्का गरेको थियो ।
खेलको २४औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । उनले डिफेन्डर जर्जिन्हो वाइनाल्डमको पासमा गोल गर्न सफल भएका थिए । ५२औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । उनले अर्काे डिफेन्डर अचरफ हाकिमीको पासमा गोल गर्न सफल भएका थिए । ६१औं मिनेटमा पारेडेसले गोल गर्दै पिएसजीको जित पक्का गरे ।
जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले दोस्रो र तेस्रो स्थानमा रहेको मार्से र निसलाई स्पष्ट १५ अंकले पछि पारेको छ । पिएसजीको २८ खेलबाट ६५ अंक पुगेको छ । समान खेलबाटै मार्से र निसको ५० अंक छ । पराजित बोर्डेअक्स २२ अंक जोडेर पुछारमा रहेको छ ।
प्रतिक्रिया