
त्रिभुवन आर्मी क्लब चौथो पटक झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्ने दाउमा रहँदा घरेलु टोली झापा ११ भने उपाधि खडेरीलाई तोड्ने प्रयासमा हुनेछ । अघिल्ला ४ मध्ये पहिलो बाहेक ३ पटक आर्मीले उपाधि जित्दा झापा भने ४ पटक उप विजेताका रुपमा सिमित भएको छ । पहिलो संस्करणको उपाधि भने मनाङ् मस्र्याङ्दी क्लबले जितेको थियो ।झापा गोल्डकपको पाँचौं संस्करणको फाइनलमा सोमबार आर्मी र झापा ११ बीच प्रतिस्पर्धा हुँदैछ । बर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा दुवैले उपाधि जित्ने प्रयासमा हुनेछन् । सेमिफाइनलमा झापाले संकटा क्लब र आर्मीले सातदोबाटो युथ क्लबलाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेको थियो ।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण उपाधि रक्षा गर्ने दाबी गरेका छन् । उनले झापामा विभिन्न क्लबका खेलाडी रहेका कारणम पनि जित निकाल्न सहज हुने बताए । झापा–११ का प्रशिक्षक सन्तोष गुरुङले झापामा स्टार खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए । उनले चारपटकसम्म झापाले उपविजेतामा चित्त बुझाएकाले यसपटक उपाधि उचाल्ने विश्वा व्यक्ति गरे ।
पाँचौं संस्करणको झापा गोल्डकपको उपाधि विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।
विशाल ‘ए’ लाई लाइभ टाइभ अचिभमेन्ट अवार्ड दिइने
त्यस्तै, झापा गोल्डकपले यसपटक झापा–११ का खेलाडी विशाल राई ‘ए’लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइने भएको छ । उनले एक थान मोटरसाइकल पाउने आयोजक समिति अध्यक्ष बस्नेतले बताए ।
उनले सरप्राइज म्यासेज भन्दै विशाल राईलाई सम्मान गर्न लागेको बताए । सम्मानित हुन लागेका झापा ११ का खेलाडी विशाल राईलाई यामाहा कम्पनीको एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।
विशालले झापा ११ र सिक्किमबीचको खेलमा पनि स्थान बनाएका थिए । राईलाई भोलि झापा ११ र त्रिभुवन आर्मीबीच हुने पाँचौँ संस्करणको फाइनल खेलमा भव्य समारोहका बीच सम्मान गरिने आयोजकले जनाएको छ । यसअघि आयोजकले झापा ११ का पूर्वकप्तान प्रवेश कटुवाल र मिडफिल्डर नगेन्द्रमणि लिम्बूलाई पनि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिसकेको छ ।
प्रतिक्रिया