
एजेन्सी – न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपमा दक्षिण अफ्रिकाले लगातार चौथो जित हात पारेको छ । दक्षिण अफ्रिकाले घरेलु टोली न्युजिल्यान्डलाई २ विकेटले हराउँदै सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।
२ सय २९ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले ४९.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । दक्षिण अफ्रिका जितमा ओपनर लौरा वोल्भार्डले ९४ बलमा ६ चौकासहित सर्वाधिक ६७ रन बनाइन् । कप्तान सुने लुस ७३ बलमा ४ चौकासहित ५१ रनमा आउट भइन् । मरिजान क्याप ३५ बलमा ४ चौकासहित ३४ रनमा अविजित रहिन् । न्युजिल्यान्डकी अमेलिया केरले ३ र फ्रान्सिस म्याकेले २ विकेट लिइन् ।
सेड्डन पार्क हामिल्टनमा टस जितेर ब्याटिङ थालेको न्युजिल्यान्ड ४७.५ ओभरमा २ सय २८ रनमा अल आउट भयो । न्युजिल्यान्डकी कप्तान सोफी डेविनले १ सय १ बलमा १२ चौका र १ छक्कासहित ९३ रनको उत्कृष्ट इनिङ खेले पनि अन्य ब्याटर नचल्दा पराजित हुन पुग्यो ।
अमेलिया केर ५८ बलमा ५ चौकासहित ४२ रन, मेडी ग्रिन ३० र ब्रुक हेडिले २४ रनमा आउट भइन् । दक्षिण अफ्रिका शबनिम ईस्माइल र अयाबोंगा खाकाले ३–३ विकेट लिए । मरिजान क्यापले २ र सुने लुसले १ विकेट लिइन् ।
दक्षिण अफ्रिका ४ खेलमा ४ मा जितका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । अष्ट्रेलिया ४ खेलमा ४ मा जित सहित ८ अंक भएपनि नेटरनरेटको कारण शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाले यसअघि बंगलादेशलाई ३२ रन, पाकिस्तानलाई ६ रन र इंग्ल्यान्डलाई ३ विकेटले हराएको थियो । अफ्रिकाले मंगलबार अष्ट्रेलियासँग खेल्नेछ ।
प्रतिक्रिया