
एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँगै लिभरपुल र क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले प्रिमियर लिगकै टोली साउथह्याम्टनमाथि उसकै मैदानमा ४–१ को सानदार जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।सिटीको फराकिलो जितमा रहिम स्टर्लिङ, केभिन डि ब्रुएन, फिल फोडेन र रियाद महारेजले गोल गरे । साउथह्याम्टनले एक गोल उपहार पाएको थियो । सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा आइतबार राति भएको खेलको १२औं मिनेटमा रहिम स्टर्लिङको गोलबाट सिटीले सुुरुवाती अग्रता बनाएको थियो । उनले गाब्रियल जेससको पासमा गोल गर्न सफल भएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एमरिक लापोर्टाले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । तर, दोस्रो हाफमा सिटीले उच्च प्रदर्शनलाई निरन्तरता दिदै सानदार जित निकालन सफल भयो ।
६२औं मिनेटमा केमिन डि ब्रुएनले पेनाल्टीमा गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । ७५औं मिनेटमा फिल फोडेनले तथा ७८औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीको जित पक्का गरे ।
अर्काे खेलमा लिभरपुले च्याम्पियनसिप क्लब नथिङघम फरेस्टलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । लिभरपुलको जितमा डिएगो जोटाले ७८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
यस्तै अर्काे खेलमा क्रिस्टल प्यालेसले एभर्टनलाई ४–० को भारी अन्तरले पराजित गरेको छ । क्रिस्टल प्यालेसको जितमा मार्क गुही, जिन फिलिप माटेटा, वेलफ्रेड जाहा र विल ह्युगले गोल गरे ।
योसँगै एफए कपको सेमिफाइनलको समिकरण पुरा भएको छ । यसअघि शनिबार राति चेल्सीले मिडल्सव्रगलाई पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ ।
अब सेमिफाइनलमा चेल्सी र क्रिस्टल प्यालेस तथा सिटी र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलका खेलहरु १६ अप्रिलमा तथा फाइनल १४ मेमा हुनेछ ।
प्रतिक्रिया