
एजेन्सी – दुबै टोलीले सानदार ब्याटिङ गरेपछि इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको दोस्रो टेस्ट खेल ड्र (नतिजा विहीन) सकिएको छ । योसँगै तीन टेस्ट खेलको सिरिज दुबै ड्र भएका छन् ।इंग्ल्यान्ड र वेस्टइन्डिजबाट पहिलो इनिङमा समान दुई सानदार शतकसँगै खेल नतिजा बिहीन बनेको हो । इंग्ल्यान्डबाट जो रुट र बेन स्टोक्स तथा वेस्टइन्डिजबाट क्रेग व्रेथवेट र जर्मेन ब्ल्याकवुडले सानदार शतक प्रहार गरेका थिए । पाँचौं दिन २ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ६५ ओभरमा १३५–५ को अवस्थामा खेल सकिएको थियो । कप्तान क्रेग व्रेथवेट १ सय ८४ बलमा ४ चौकासहित ५६ रनमा अविजित रहे ।
पहिलो इनिङमा व्रेथवेटले ४ सय ८९ बलमा १७ चौकासहित कुल १ सय ६० रनको उत्कृष्ट इनिङ खेलेका थिए । समग्रमा उनले ६ सय ७३ बलको सामना गरे । वेस्टइन्डिजबाट टेस्टमा एकै खेलमा एक ब्याटरले सामना गरेको सर्वाधिक बल हो। उनले पूर्व कप्तान तथा महान् क्रिकेटर ब्रायन लाराले सन् २००४ मा इंग्ल्यान्डविरुद्ध ५ सय ८२ बलको कीर्तिमान तोडेका हुन् । व्रेथवेटनै खेलको प्लेयर अफ द म्याच चुनिए । विकेटकिपर जोशुवा डि शिल्भा ३० र जर्मेन ब्ल्याकवुडले २७ रन बनाए । इंग्ल्यान्डका स्पिनर ज्याक लिचले ३ र सकिब मोहम्मदले २ विकेट लिए ।
इंग्ल्यान्डले पाँचौं दिनको पहिलो सेसनमा ३९.५ ओभरमा १८५–६ को अवस्थामा दोस्रो इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा ९६ रनले अघि रहेको इंग्ल्यान्डले समग्रमा २ सय ८१ रनको अग्रता लिएको थियो । इंग्ल्यान्डका ज्याक क्रलीले ४०, ड्यान लरेन्स ४१, जोनी बेयरस्टो २९, एलेक्स लेस २४, जो रुट ९ र बेन स्टोक्स १९ रनमा आउट भए । वेस्टइन्डिजका वीरस्वामी पेर्मुल र जयडेन सिल्सले २–२ विकेट लिए ।वेस्टइन्डिज पहिलो इनिङमा ४ सय ११ रनमा अल आउट भएको थियो । कप्तान व्रेथवेटले १ सय ६० रनको उत्कृष्ट शतकीय इनिङ खेले । जर्मेन ब्ल्याकवुडले २ सय १५ बलमा ११ चौकासहित १ सय २ रनको शतकीय इनिङ खेले । चौथो विकेटका लागि व्रेथवेट र ब्ल्याकवुडले १ सय ८३ रनको साझेदारी गरेका थिए । शम्राह ब्रुक्स ३९ र जोशुजा डि सिल्भा ३३ रनमा आउट भए । इंग्ल्यान्डका ज्याक लिचले ३, सकिब मोहम्मद र बेन स्टोक्सले २–२ विकेट लिए ।
त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले पहिलो इनिङमा ५०७–९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । इंग्ल्यान्डका कप्तान जो रुटले ३ सय १६ बलमा १४ चौकासहित १ सय ५३ रनको उत्कृष्ट शतकीय इनिङ खेले । बेन स्टोक्सले १ सय २८ बलमा ११ चौका र ६ छक्कासहित १ सय २० रनको सानदार शतक प्रहार गरे ।
अर्का ब्याटर ड्यान लरेन्सले १ सय ५० बलमा १३ चौका र १ छक्कासहित ९१ रन जोडे । क्रिस वोक्स ४१, बेन फोक्स ३३, एलेक्स लेस ३० र जोनी बेयरस्टोले २० रन जोडे । वेस्टइन्डिजका वीरस्वामी पेर्मुलले सर्वाधिक ३ विकेट लिए । केमार रोचको नाममा २ विकेट रह्यो । पहिलो टेस्ट पनि उत्कृष्ट ब्याटिङको कारण ड्र भएको थियो । तेस्रो तथा अन्तिम टेस्ट खेल २४ मार्चदेखि सुरुहुनेछ ।
प्रतिक्रिया