
काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आसन्न स्थानीय निर्वाचन केन्द्रित छलफल भएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएकाे हाे ।
प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार उहाँहरूबीच स्थानीय तह निर्वाचन केन्द्रित समसायिक विषयमा छलफल भएको छ । बिहान करिब एक घण्टा निर्वाचन लगायतका विषयमा छलफल भएको उहाँले बताउनुभयो ।
यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले छलफलमा दाहालले द्वन्द्वकालीन समयका घाइते, अपाङ्ग योद्धाहरुको विषयमा प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराउनुभएको बताउनुभयो ।
अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरवलोकन कार्यविधि–२०७४ संशोधन, कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताको सूचीकृत गर्ने विषय, गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र, परिवारलाई मासिक जीवन निर्वाह भत्ता लगायतका विभिन्न बुँदामा ध्यानाकर्षण गराइएको उहाँको भनाइ छ ।
प्रतिक्रिया