
यतिबेला राजनीतिक दलका नेताहरू चुनावी दौडधुपमा छन् । विभिन्न दलका नेताहरू आ-आफ्नो पार्टीको पक्षमा जनमत बलियो बनाउन दौडधुप सुरु गरेका हुन् । सत्ता गठबन्धनका दलहरू, नेकपा एमाले र अन्य दल आफ्नै किसिमले चुनावी अभियानमा लागेका छन् । एमालेले सत्ता गठबन्धनलाई समेत चुनौती दिँदै आएको छ । स्थानीय तहको चुनावी माहोल बनाउन एमालेका शीर्ष नेताहरू देशव्यापी रूपमा हिँडिरहेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका नेताहरू गाउँ-गाउँमा पसिसकेका छन् ।
दलका भेला, सभा, प्रशिक्षण बाक्लो हुँदैछन् । सबै दललाई आ-आफ्ना पार्टी बलियो र शक्तिशाली बनाउनुछ । जनतालाई भ्रम छर्न नेताहरू खप्पिस छन् । यतिबेला बडो गज्जबको परिदृश्य देखिँदै छ नेताहरूको । एकले अर्कोलाई लल्कार्दै, दुत्कार्दै भेला, सभा गरिरहेका छन् । नेताहरूको यो परिदृश्य हेर्दा उनीहरूले राजनीतिक संस्कार सबै भुलेका छन् । एकले अर्कोलाई कटु अरोप, तीखो प्रहारमा व्यस्त छन् उनीहरू ।
सत्ता गठबन्धनले चुनावी तालमेलको कुरा गरिरहेको छ तर अझै सबै ठाउँमा भरपर्दो तालमेल हुन सकिरहेको छैन । मिलेर लुट्न पल्किएकाहरू मिल्छन् यो कुनै ठूलो कुरा होइन तर जनताको भविष्यका विषयमा दलहरू कति गम्भीर छन् भन्ने महत्वपूर्ण कुरा हो । जनता देशका मालिक हुन् । उहिले राणा शाहका पालामा जस्तो जनतालाई रैती ठान्ने दिन गए । अबको चुनावमा मतदाता चनाखो बन्नुपर्ने आवश्यकता देखिएको छ । मतदान गर्नु सबैको आ-आफ्नो स्वतन्त्र अधिकार हो । आजका जनता धेरै चेतनशील छन् ।
अब जनताले यो पार्टीमा र ऊ पार्टीमा कसैले भोट हाल भन्दैमा हाल्नेवाला पनि छैनन् । राजनीतिक दलले त्यस कुरालाई बुझ्नुपर्छ । अहिले नेपाली कांग्रेसले फरक धारको कम्युनिष्ट शक्तिसँग गठबन्धन गरेर चुनावी तालमेल मिलाउन थालेको छ । अहिलेका सत्ताधारी राजनीतिक दल र नेताले ओलीविरुद्ध गठबन्धन कायम राखिरहेका छन् । मिलेर अर्को दललाई हराउने जुन किसिमको परिपार्टी र संस्कार मौलाएको छ यो वास्तवमा राम्रो होइन । सबै दलहरू आ-आफ्ना घोषणा पत्रका आधारमा दलीय चुनावी प्रतिस्पर्धा गर्ने आँट गर्नुपर्छ । चुनाव आआफ्ना दलीय सिद्धान्तमा रहनुपर्छ । त्यसो भयो भने मात्र राम्रो हुन्छ ।
आ-आफ्ना पहिचान र घोषणा पत्रका आधारमा दलीय प्रतिस्पर्धाबाट लड्ने र निर्वाचित हुने विकल्प प्रयोग गर्नु नै उपयुक्त हुन्छ । यही नै यो संविधानको सबल कार्यान्वयन र व्यवस्थाको सहज उपयोग हुन सक्छ । यसलाई कांग्रेस नेतृत्वले सोच्नु आवश्यक छ । चुनाव आफ्नो क्षमताका आधारमा लड्ने हो । आफ्नो सिद्धान्तका लागि लड्ने हो । अरूले सहयोग गर्ला र जितौँला र खाऊँला भन्ने सोच गलत हो । दलहरू आ-आफ्ना खुट्टामा उभिन सक्नुपर्छ । अरूको वैशाखी टेकेर चुनाव लड्नु लोकतन्त्रमा राम्रो मानिँदैन । माओवादी र समाजवादी लगायतका दलहरू जसरी पनि गठबन्धन जोगाऔँ भनेर लागिरहेका छन् ।
दलहरू स्पष्ट विचार लिएर अघि बढ्नुपर्छ । जनतालाई चित्त बुझ्यो भने भोट दिन्छन् । अन्यथा, अरूको सिद्धान्त र विचारमा चुनाव लड्दा आफ्नै अस्तित्व संकटमा पर्ने खतरा आउन सक्छ । अहिले चुनावमा मिलेर जाँदा केही बढी सिट जितिएला । यो राजनीतिक स्वार्थ हो । स्वार्थको राजनीतिले देशको भविष्य बनाउन सकिँदैन । यसबारे बुझन जरुरी छ । यो गठबन्धन सधैँ टिक्छ भन्ने पनि त छैन नि । गठबन्धन एउटा स्वार्थ हो । यसमा सबै दलको आ-आफ्नो स्वार्थ लुकेको छ । त्यो स्वार्थ पूरा भएपछि सबै आ-आफ्नो बाटो लाग्छन् । यो विगतबाट सिकेको पाठ हो । खुट्टा तान्नेहरू पनि धेरै छन् ।
अघिल्लो चुनावमा गठबन्धन गरेर पछि एकै दल भएका एमाले माओवादीको हालत के भयो ? कसले फुट्लान् भनेर सोचेको थियो र ? विचार र सिद्धान्तबिनाको एकता लामो समयसम्म टिक्दैन भन्ने त लागेको थियो त्यही भयो । एकै पार्टीमा त आन्तरिक द्वन्द्व हुन्छ भने विभिन्न फरक धार भएका पार्टीको अवस्था एउटै रहन्छ भन्ने हुँदैन । त्यसैले यसलाई गठबन्धनमा जोडिएका दलहरूले गम्भीर भएर सोच्नुपर्छ । गठबन्धनमा पनि कांग्रेसले बढी नै सोच्नु आवश्यक छ । नेपालको इतिहासमा निकै ठूला-ठूला राजनीतिक परिवर्तन भएका छन् ।
तर, परिवर्तनपछि जनताले आफूले सोचेको केही पाउन सकेनन् । नेपाली जनताले जहानियाँ राणा शासन पनि भोगे । ३० वर्ष लामो निर्दलीय पञ्चायती व्यवस्था पनि भोगे । त्यसपछि नेपाली जनताले २०४७ सालपछि बहुदलीय व्यवस्थाको अभ्यास पनि गर्ने अवसर पाए । बहुदलीय संसदीय अभ्यासको करिब १५ वर्षसम्म अभ्यास गरेपछि मुलुकमा फेरि राजनीतिक परिवर्तन भयो । २०६३ सालको परिवर्तनपछि हामी संघीय लोकतान्त्रिक र गणतान्त्रिक बहुदलीय संसदीय प्रणालीको अभ्यासमा छौँ । त्यत्तिका नागरिकलाई शहीद बनाइयो । जनताका छोराछोरी मारिए । धेरै पटकका आन्दोलन मुलुकले व्यहोर्यो । राजनीतिक परिवर्तन पनि भए ।
संविधानहरू पनि परिवर्तन भए तर राजनीति दल र तिनका नेता भने सुध्रिएनन् । यो नेपाली जनताका लागि ठूलो दुर्भाग्य हो । तीतो यथार्थ हो यो, आजसम्म आउँदा हाम्रा राजनीतिक दल र दलका नेताले सत्ता प्राप्तिकै लागि गठबन्धन गरे । जनताको अवस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । अहिलेका नेताहरू भाषण मात्र गर्छन्, जनताका काम गर्दैनन् । गठबन्धन संयुक्त उम्मेदवार बनाएर चुनावमा जानु भनेको आफ्नो खुट्टाले आफैँ टेक्न नसक्नु जस्तो हो । यस्तो संस्कारले दललाई कमजोर बनाउँछ । गठबन्धनका आधारमा चुनाव लड्छौँ भन्नुलाई के भन्ने ? हाम्रा राजनीतिक नेताहरू दलीय प्रतिस्पर्धाबाट भाग्नु जस्तो हो ।
हाम्रो देशका राजनीतिक दलबीचको गठबन्धनमा राजनीतिक उद्देश्य प्राप्ति र जनतालाई सुशासन र विकास दिने उद्देश्य कम छ । त्यसभन्दा बढी सत्ता प्राप्तिको उद्देश्य रहेको प्रष्ट देखिन्छ । यसअघिको स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेर एमालेलाई एक्ल्याउने प्रयास गरेकै हुन् । त्यसको ६ महिना नबित्दै एमाले र माओवादीको गठबन्धन बन्यो । त्यो त नितान्त सत्ता स्वार्थका लागि मात्रै भएको गठबन्धन थियो । अहिले पनि अमेरिकी मिलेनियम सहयोग परियोजना (एमसिसी)को चर्को विरोध गर्दै आएका दलहरू सत्ता गठबन्धन जोगाउनकै लागि एमसिसीको पक्षमा मतदान गर्न गए ।
एमसिसी पारित भयो तर गठबन्धन जोगाउने नाममा आफूले गलत भनिरहेको कुराको सही ठाउँमा विरोधसमेत गर्न नसक्ने र बाहिर जनताको आँखामा छारो हाल्ने प्रयास भइरहेको देखियो । यसले पनि प्रष्ट पारिसकेको छ कि यो गठबन्धन सत्ता प्राप्तिका लागि बाहेक अन्य कुनै उद्देश्यका लागि भएकै छैन । विगतमा दलहरूले दिएका आश्वासन अझै पूरा हुन सकेका छैनन् । त्यसो भएकोले पनि जनता उत्साहित छैनन् । राजनीतिक दलहरू र तिनका नेताहरू जब चुनाव आउँछ तब मात्र जनताको घर आँगनमा पुग्छन् । पुरानै चरित्र र प्रवृत्तिको नयाँ संस्करण देखिएको छ । चुनाव सकिएपछि फर्केर हिजो गएनन् आज फेरि आउँछन् भन्ने जनतामा विश्वास छैन ।
स्थानीय निर्वाचनको समय नजिकिँदै छ । तरपनि अहिलेसम्म राजनीतिक दलहरूले आ-आफ्ना धारणा जनता सामु सार्वजनिक गर्न सकिरहेका छैनन् । दलसँग फरक एजेण्डा अहिले छैन । घोषणा पत्रमा के लेख्ने भन्ने कुरामा दलहरू अलमलिएका छन् । रचनात्मक, सिर्जनशीलता, गतिशील र दीर्घचिन्तन हाम्रा नेताको संस्कारमा पाइँदैन । समाधानमुखी सोचले नेता र नेतृत्व ग्रस्त रहेको देखिन्छ । राजनीतिक दलहरू विचारविहीन छन् । त्यसैले त उनीहरू ललकार र दुत्कारमा व्यस्त देखिन्छन् । विगतका आश्वासन पूरा नहुँदा जनताले नेताको खुलेर आलोचना पनि गर्न थालिसकेका छन् ।
यो स्वाभाविक पनि हो । नेताहरूमा चेत पलाउन सकेन । उनीहरू एकअर्कालाई गालीगलौज गर्ने, हिलो छ्याप्ने र उछित्तो काढ्ने काममा लागिरहेका छन् । दन्त बझानमा नै रमाइरहेका छन् । गठबन्धनलाई लिएर कांग्रेस मझधारमा रहेको देखिन्छ भने गठबन्धको फेरो समाएर आफ्नो अस्तित्व कायम गर्न केही दल लागिपरेका देखिन्छन् । कांग्रेसले अन्य पार्टीसँगको गठबन्धनभन्दा पनि आफ्नो आन्तरिक अन्तरविरोधलाई हल गर्दै अघि बढ्नु नै श्रेयस्कर हुने देखिन्छ । यसलाई नेतृत्वले सोच्नु आवश्यक छ ।
चुनाव भनेको सिद्धान्त र आफ्नो क्षमताका आधारमा लड्ने हो । अरूको सहयोगमा चुनाव लड्ने परिपार्टीले हामीलाई सही गन्तव्यमा पु¥याउँदैन । आ–आफ्ना स्पष्ट विचार र दृष्टिकोण लिएर जनतासमक्ष जाऔँ । जनताले जसलाई चित्त बुझाउँछन् उसैलाई भोट दिन्छन् । अन्यथा, अरूको सिद्धान्त र विचारमा चुनाव लड्दा आफ्नै अस्तित्व संकटमा पर्नसक्छ । समयमै दलका नेतारूले मनन गर्नु जरुरी छ । तत्कालका लागि केही फाइदा होला तर त्यो दीर्घकालीन भने पक्कै पनि हुँदैन । साभार हिमालय टाइम्स बाट
प्रतिक्रिया