Pura Samachar

चोनबुरी फुटबल क्लबसँग नेपाल ३–१ ले पराजित

प्रकाशित: March 27, 2022
पूरा समाचार

चोनबुरी फुटबल क्लबसँग नेपाल ३–१ ले पराजित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा थाइल्यान्डको चोनबुरी फुटबल क्लबसँग हार बेहोरेको छ । नेपाल ३–१ ले पराजित भएको हो ।चोनवुरीकै मैदानमा आइतबार भएको खेलमा घरेलु टोलीको जितमा पन्थामित प्रफान्थ, रेनाटो क्लिच र नाटापोङ डिडुएचाटले गोल गरे ।नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए । ३०औं मिनेटमा पन्थामित प्रफान्थको गोलबाट चोनवुरीले सुरुवाती अग्रता लिएको थियो ।

६०औं मिनेटमा रेनाटो क्लिचले गोल गर्दै चोनवुरीको अग्रता दोब्बर पारे । ८३औं मिनेटमा परिवर्तित खेलाडी दर्शन गुरुङले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । दर्शन दोस्रो हाफको शुरुमै एरिक विष्टको स्थानमा मैदान छिरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा चोनवुरीका परिवर्तित खेलाडी नाटापोङ डिडुएचाटले गोल गर्दै टोलीको जित पक्का गरे । चोनवुरीसँगको खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो रोजाईका गोलरक्षक तथा कप्तान किरण चेम्जोङलाई विश्राम दिदा दीप कार्कीलाई गोलपोस्टको जिम्मेवारी प्रदान गरेको थियो । टोलीको कप्तानी अनन्त तामाङले सम्हालेका थिए ।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थप तयारीस्वरुप थाइल्यान्ड र त्यहाँको स्थानिय टोली चोनवुरीसँग मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि १० चैतमा भएको खेलमा नेपाल थाइल्यान्डसँग २–० ले पराजित भएको थियो ।

यसअघि नेपालले माघ १५ गते र माघ १८ गते अफ्रिकी राष्ट्र मौरिसससँग खुई मैत्रीपूर्ण खेल खेलेको दुवै खेलमा नेपालले समान १–० को जित निकालेको थियो ।

प्रतिक्रिया