सरकारको अनुमति नलिई मापदण्ड विपरित गरिएका प्लटिङ्का जग्गा रोक्का हुने चर्चाले अहिले उपत्यकाका जग्गा व्यवसायीमा हलचल ल्याएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले भक्तपुर र ललितपुरमा गरी झण्डै २०० हाराहारी ठाउँमा अनधिकृत प्लटिङ भएको पत्ता लगाएर जग्गाको कित्ता नम्बर खोज्न खटाएको छ ।
केही ठाउँमा कित्ता नम्बर समेत पत्ता लगाइसकेको प्राधिकरणले सबै अनधिकृत प्लटिङको कित्ता नम्बर आएपछि सिधै मालपोत कार्यालयलाई पत्राचार गरेर रोक्का राख्ने योजना बनाएको छ ।
बैकले लोन नदिएर सुस्ताएको घरजग्गा व्यवसाय प्राधिकरणको यो योजना सार्वजनिक भएसंगै फेरी तरङगित भएको हो ।
प्राधिकरणले ५ प्रतिशत खुल्ला क्षेत्र र २० फिट बाटो कायम नगरी गरिएका प्लटिङ्का जग्गा रोक्का गर्ने मालपोत कार्यालयलाई पत्राचार गर्ने योजना बनाएको हो । २० फिटे बाटो राखेर ५ प्रतिशत खुल्ला क्षेत्र छोडेर नियम अनुसार काम गर्दा एक रोपनी जग्गामा २/३ ओटा भन्दा बढी घडेरी बनाउन सकिन्न । तर त्यहि जग्गा अनुमति नलिएर १३ फिटे बाटो राखेर प्लटिङ गर्दा ४ ओटासम्म घडेरी बनाउन सकिन्छ । त्यसै कारण व्यवसायीहरूले सरकारी निकायलाई समेत प्रभावमा पारेर अनधिकृत प्लटिङ गर्ने गरेको जानकारहरू बताउँछन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले २० फिट भन्दा सानो बाटोमा जग्गा प्लटिङ गर्न अनुमति नै दिदैन । त्यसरी १३ फिट मात्रै बाटो राखेर गरिएका प्लटिङ सरासर अनधिकृत हुन । १३ फिटे बाटोमा फोहोर उठाउने ठूला गाडी जान सक्दैनन् । आगलागी हुँदा दमकल र बिरामी पर्दा एम्बुलेन्स पनि सहज रुपमा जान सक्दैनन् । त्यहि कारण उपत्यका विकास प्राधिकरणले अहिले २० फिट भन्दा कम चौडाइ भएका बाटो राखेर जग्गा प्लटिङ गर्न स्विकृती नै दिदैन ।
प्रतिक्रिया