Pura Samachar

आज आइतबारदेखि पेट्रोलियम पदार्थको सहज रुपमा पाइने

प्रकाशित: April 3, 2022
पूरा समाचार

आज आइतबारदेखि पेट्रोलियम पदार्थको सहज रुपमा पाइने

नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच सहमति भएसँगै आज आइतबारदेखि पेट्रोलियम पदार्थको सहज रुपमा पाइने भएकाे छ।

निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुई पक्षबीच सहमति भएकाे हाे। समन्वय समितिले गत फागुन २३ मा निगम समक्ष पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी माग पेस गरेको थियो।

शनिबारकाे छलफलमा पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी माग ७ दिनभित्र सम्बाेधन गर्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा आगामी जेठ १५ सम्ममा सक्ने सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसाेसिएसन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू शनिबारैदेखि स्थगन गरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् सञ्चालन गर्ने सहमति भएको छ।

पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू आइतबार बिहान ८ बजेदेखि नै सञ्चालन गरिने निगमले जनाएको छ।

प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले शनिबारै पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका थिए।

उनले आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसाेसिएसनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए।

 

प्रतिक्रिया