Pura Samachar

स्कटल्यान्डको ओमानमाथि २ विकेटको रोमान्चक जित

प्रकाशित: April 16, 2022
पूरा समाचार

स्कटल्यान्डको ओमानमाथि २ विकेटको रोमान्चक जित

एजेन्सी – स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ मा ओमानमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ । २ सय २६ रनको विजयी लक्ष्य स्कटल्यान्डले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।स्कटल्यान्डलाई अन्तिम ६ बलमा जितको लागि १२ रन चाहिँएको थियो । तीव्र गतिका बलर बिलाल खानलाई मार्क वाट्टले पहिलो र पाँचौं बलमा चौका प्रहार गर्दै रोमान्चक जित दिलाए । स्कटल्यान्डका रिची बेरिंग्टनले १ सय १० बलमा ५ चौकासहित सर्वाधिक ७३ रन बनाए ।

जर्ज मुन्शे ४३, माइकल लिस्क २१ र मार्क वाट्टले ३७ रन बनाए । ओमानका बिलाल खानले ९.५ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर ३ विकेट लिए । कलिमुल्लाहले १० ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियम दुबईमा टस जितेर ब्याटिङ थालेको ओमानले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रन बनायो । ओपनर कश्याप प्रजापतिले १ सय ६ बलमा ९ चौकासहित सर्वाधिक ८१ रन बनाए । मोहम्मद नदिम ५१ बलमा ३ चौका र १ छक्कासहित ५३ रनमा अविजित रहे ।

खवर अली २५, जिशान मकसुद १६ र नसिम खुसी २९ रन बनाए । माइकल लिस्क १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए । एड्रियन नीलले ९ ओभरमा १ मेडनसहित ४१ रन खर्चेर २ विकेट लिए ।

आज ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान ३१ खेलमा १८ मा जित र ११ मा हारका साथ ३८ अंकका साथ शीर्षस्थानमा छ । स्कटल्यान्ड १६ खेलमा ११ मा जित र ३ मा हार सहित २४ अंकका साथ दोस्रो स्थानमा छ ।

नेपाल १२ खेलमा ६ मा जित र ६ मा हारका साथ छैटौं स्थानमा छ । पीएनजी १९ खेलमा १ मा जित र १८ मा हारका साथ पुछारमा छ । शीर्ष तीन टोली अर्को वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोटमा सिधैं पुग्नेछन् ।

प्रतिक्रिया