Pura Samachar

अवैध हतियारसहित दुई जना भारतीय नागरिकलाई पक्राउ

प्रकाशित: May 7, 2022
पूरा समाचार

अवैध हतियारसहित  दुई जना भारतीय नागरिकलाई पक्राउ

बारास्थित सिम्रौनगढबाट अवैध हतियारसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सिम्रौनगढ–कचोर्वा सडकखण्डमा चेकजाँचको क्रममा सशस्त्र प्रहरीको गस्ती टोलीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला घोडासहन थानाक्षेत्रअन्तर्गत कसवा लौखानका विनोद यादवका २३ बर्षीय छोरा पप्पु यादव र छिमेकी गाउँ भेलवा बजारका २२ वर्षीय अखिलेस सिंह रहेको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआईजी गणेश ठाडा मगरले बताउनुभएकाे छ ।

उनीहरूको साथबाट चाइनिज अटोमेटिक पेस्तोल एक थान, म्यागजिन एक थान त्यसमा लाग्ने गोली दुई थान, घरेलु नलकटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई थान बरामद गरेको डिआईजी मगरले जानकारी दिनुभयाे ।

बारामा अवैध हतियार कारोबार भइरहेको सूचनाको आधारमा बाहिनीबाट सादा पोसाकमा गएको टोली र झरौखर सीमामा खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

बिआर १ सि १३१६ नम्बरको मोटरसाइकलमा आज विहान १० बजे सिमौनगढ–कचोर्वा सडकखण्डमा रोकेर चेकजाँच गर्दा उनीहरूले कमर मुनि लुकाएर राखेको अवस्थामा उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

मोटरसाइकल र हतियारसहित दुवैजना लाई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएको सशस्त्र प्रहरी बाराले जनाएको छ ।

प्रतिक्रिया