Pura Samachar

सीटीसी मल लिलामीको प्रक्रियामा

प्रकाशित: May 9, 2022
पूरा समाचार

सीटीसी मल लिलामीको प्रक्रियामा

काठमाडौं- कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङको कम्पनी सिभिल इस्टेट्स प्रालिको नाममा रहेको सीटीसी मल लिलामीको प्रक्रिया अगाडि बढाएको छ। कोषले एक सूचना जारी गर्दै एकसय ३२ वटा पसल कबल लिलाम बिक्रीमा राखेको हो।

तामाङको उक्त कम्पनी उद्योग विभागमा २०६४ असोज ९ मा दर्ता भएको थियो। काठमाडौं महानगरपालिका वडा नं ११ सुन्धाराको कित्ता नम्बर २४२४ को ६ रोपनी क्षेत्रफलमा सीटीसी मल निर्माण भएको हो।

८२ हजार ०९५ वर्गफिटबराबरको एक सय ३२ वटा पसल कबल कोषले लिलामीमा राख्ने गरी सोमबार सूचना निकालेको हो। कम्पनीले म्यादभित्र कर्जा चुक्ता नगरी ऋण सम्झौतामा उल्लेख भएका शर्त तथा अवस्था उल्लंघन गरेको भन्दै सम्पत्ति लिलाम बिक्रीका लागि आह्वान गरेको कोषले जनाएको छ।

तामाङले कोषलाई बुझाउनुपर्ने रकम लिलाम बिक्रीको सूचना बमोजिम म्याद भित्र बुझाएमा भने लिलाम प्रक्रिया अन्त्य हुनेछ सूचनामा उल्लेख छ। सोमबारबाट ३० दिनभित्र ऋण चुक्ता गरेमा भने लिलाम हुने छैन।

सिभिल सहकारीका निक्षेपकर्ताको करिब सात अर्ब रुपैयाँ ठगीको आरोपमा तामाङ थुनामा छन्।

प्रतिक्रिया