
काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ अमेरिकी डलर (साढे १२ बजे) पुगेको छ । गत मंगलबार प्रतिब्यारेल ११० डलर आसपास रहेको ब्रेन्ट कच्चा तेल एक सातामै १४ डलर बढेको छ ।डब्लूटीआई तेलको मूल्य १२० डलर पुगेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तेल उत्पादक मुलुकहरुको संगठन ओपेकले तेल उत्पादनमा हालको मात्रालाई नै यथावत राख्न सक्ने भएकाले मूल्यमा दवाव परेको हो। त्यस्तै रुसबाट आयात हुने ९० प्रतिशत तेल कटौती गर्न युरोपेली संघ (ईयू) सैद्धान्तिक रुपमा तयार भएकोपनि राेयटर्सले जनाएको छ ।अमेरिका तथा साउदी अरेबियापछि रुस धेरै तेल उत्पादन गर्ने तेस्रो ठूलो मुलुक हो। रुसको तेल प्रतिबन्धकै कारण अहिले विश्वको आपूर्ति श्रृंखलामा समस्या आएको हो। युक्रेनमाथि रुसको आक्रमणलाई लिएरयूरोपेली मुलुकले तेलसहित रुसका विभिन्न उत्पादनमा प्रतिबन्ध लगाएका छन्। भारतसहित अन्य मुलुकलाई समेत रुसबाट तेल खरिद नगर्न अमेरिकाले चेतावनी दिँदै आएको छ।कच्चा तेलको मूल्य बढेसँगै नेपालमा समेत असर परिसकेको छ। भारतबाट नेपाल आयल निगमलाई पछिल्लो समय तेलको मूल्य उच्च दरले बढेर आएको छ। यसले नेपाल आयल निगमलाई पनि तेलको मूल्य बढाउन दवाव परेको छ। अर्कोतर्फ निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्नुपर्ने रकम पनि बढ्दै जाने भएकाले मुलुकको ब्यापार घाटा यसले झनै बढाउने छ।नेपालमा आयात हुने वस्तुमा रकमका आधारमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दाठूलो अर्थात १५ प्रतिशत छ।
प्रतिक्रिया