Pura Samachar

मनाङ– मर्स्याङ्दी क्लबलाई स्तब्ध पार्दै विभागीय नेपाल पुलिस क्लब मकवानपुरकाे गोल्डकप सेमिफाइनलमा प्रवेश

प्रकाशित: June 7, 2022
पूरा समाचार

मनाङ– मर्स्याङ्दी क्लबलाई स्तब्ध पार्दै विभागीय नेपाल पुलिस क्लब मकवानपुरकाे गोल्डकप सेमिफाइनलमा प्रवेश

हेटौंडा । उपाधिको बलियो दावेदार मनाङ– मर्स्याङ्दी क्लबलाई स्तब्ध पार्दै विभागीय नेपाल पुलिस क्लब मकवानपुरमा जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मकवानपुरस्थित पिप्ले क्याम्पा रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा मनाङलाई १–० ले स्तब्ध पार्दै पुलिस अन्तिम चारमा पुग्न सफल भएको हो । पुलिसको जितमा पहिलो हाफमा भरत साहले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३५औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

एक गोलले पछि परेको मनाङले ४०औं मिनेटमा बराबरीको सुवर्ण मौका खेर फालेको थियो । बिमल घर्तीमगरलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा अन्जन विष्टको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन कुमार चौधरीले बचाउँदै टोलीको अग्रतालाई यथावत राख्न सफल भएका थिए ।

गोल्डकपका लागि मनाङले मछिन्द्र फुटबल क्लबका विशाल श्रेष्ठ, विशाल राई, सुजल श्रेष्ठ र बिमल घर्तीमगरलाई खेलाएको थियो । पुलिसविरुद्ध लगातार उच्च प्रदर्शन गरेपनि फिनिसिङमा चुक्दा मनाङ पहिलो खेलबाट नै बाहिरिन पुग्यो ।

बुधबार तेस्रो क्वाटरफाइनल खेलमा विजय युथ क्लब र नज जन जागृति युथ क्लब सिमराबीच प्रतिस्पर्धा हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ । उपविजेताले १० लाख प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल जेठ ३० मा हुनेछ ।

प्रतिक्रिया