Pura Samachar

नेपाल कुवेतसँग  ४–१ को फराकिलो अन्तरले पराजित

प्रकाशित: June 12, 2022
पूरा समाचार

नेपाल  कुवेतसँग  ४–१ को फराकिलो अन्तरले पराजित

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ‘ए’ मा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल घरेलु टोली कुवेतसँग शनिबार ४–१ को फराकिलो अन्तरले पराजित भएको हो ।

घरेलु टोली कुवेतको फराकिलो जितमा युसुफ नास्सेरले दुई तथा फहद अलरेसिदी र मोवारक अल फानेनीले समान एक गोल गरे । नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए । कुवेतस्थित जाबिर अल अहमद मैदानमा घरेलु टोलीलाई पहिलो हाफमा १–० को स्थितिमा रोकेपनि नेपालले दोस्रो हाफमा बलियो कुवेतलाई रोक्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो ।

खेलको सुरुवातदेखि नै दबाबमा खेलेको नेपालले २८औं मिनेटमा गोल खान पुगेको थियो । फहद अलरेसिदीले गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाए । अली मातरको क्रसलाई फहदले हेडमार्फत जाली चुमाउदा केही उत्कृष्ट बचाउ गरेका गोलरक्षक दीप कार्कीले यसपटक बचाउने कुनै मौका नै पाएनन् ।

३९औं मिनेटमा दीपले वान भर्सेस वानको स्थितिको प्रयासलाई बचाउदा डिफेन्डरले क्लियर गर्दै नेपालको अर्काे संकट टारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा आयुष घलानको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरिदा नेपाल बराबरीबाट चुक्यो ।

४८औं मिनेटमा युसुफ नास्सेरले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे । ५७औं मिनेटमा कप्तान नवयुग श्रेष्ठको प्रहार क्रस बारमा लागेर फर्कदा नेपाल अग्रता कम गर्नबाट चुक्यो । ६८औं मिनेटमा युसुफ नास्सेरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि नेपाल खेलमा ३–० ले पछि पर्यो ।

७३औं मिनेटमा मोवारक अल फानेनीले गोल गर्दै कुवेतलाई ४–० ले अघि बढाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा दर्शनले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याएपनि हार टार्न सकेन । ३५औं मिनेटमा गौतम श्रेष्ठको स्थानमा मैदान छिरेका दर्शनको पहिलो प्रहार डिफेन्डरले ब्लक गर्दा रिवाउन्डको उनको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

कुवेतले छनोटमा पहिलो जित निकाल्दा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । कुवेतको दुई खेलबाट ३ अंक पुगेको छ । नेपालले अंकको खाता खोल्न सकेको छैन । यो समूहमा जोर्डन र इन्डोनेसियाको पनि समान ३ अंक नै छ । उनीहरुले एक खेल कम खेलेका छन् ।

छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् ।

प्रतिक्रिया